Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टाउकै माथिबाट जहाज खस्यो, भाग्यले बाँचे

पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झरे । नदीमा बल्छी थापेको त्यस्तै १०-१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उनले भने, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।”

यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लागे । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उनले सुनाए, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उनले भने, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।”

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्यँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन् । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ?

अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बसेका छन् । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उनले भने ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ ।

घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।
सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com