Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मानुङकोटमा १० फिट अग्लो नेपालको झन्डा

तनहुँ – तनहुँको व्यास नगरपालिका ५ मानुङकोटमा नेपालको झन्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झन्डा राखेको हो ।

पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झन्डाको आज व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले अनावरण गर्नुभयो । त्यस अवसरमा मेयर न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झन्डा राखिएकामा संस्थाको प्रशंसा गर्नुभयो । स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिका सकारात्मक रहेको न्यौपानेको भनाइ थियो ।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको अवस्थामा एउटा इँटा थप्ने उद्देश्यसहित नेपालको झन्डा राखिएको बताउनुभयो ।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ पर्यटक उक्लिने गरेका छन् । अन्य दिनभन्दा शनिवार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिवारको दिन झन्डै पाँच हजार पर्यटक यहाँ पुग्छन् ।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com