Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मधेसका मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे पाँच वर्षका उपलब्धि

काठमाडौं । मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा गरेको कामको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । नयाँ सरकार बनाउन चहलपहल सुरु भएसँगै मुख्यमन्त्री राउतले मधेस भवनमा पत्रकार सम्मेलन गरी सातवटै प्रदेशमध्ये मधेश प्रदेश सरकारले उत्कृष्ट काम गरेको दाबी गरे ।

मधेस प्रदेश सरकारले गरेको कतिपय काम संघीय सरकारले रोक्ने प्रयास गरेको तर ती सबै अवरोध र बाधालाई पन्छाउँदै आफूहरुले काम गरेको उनको दाबी थियो । प्रदेश सरकार बनेपछि विभिन्न ऐन, कानुन निर्माणदेखि लिएर तीनवटा विश्वविद्यालय स्थापना गरी त्यसलाई सञ्चालनमा ल्याइएको उनले बताए ।

मधेस प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै उनले दलितको हकमा पनि यो सरकारले थुप्रै काम गरेको जानकारी गराए । महिला, दलित, उत्पीडित समुदायको सेवाका लागि मधेस सरकार हरहमेशा तयारी अवस्थामा रहन्थ्यो भन्दै उनले दलित आरक्षणको व्यवस्था ऐनमै गर्न लगाएको दाबी गरे ।

दलितप्रति कुनै प्रकारको विभेद तथा छुवाछुतको आरोप नलगोस भनेर उनीरुको उत्थानका लागि दलित विकास समिति नै गठन गरेको मुख्यमन्त्री राउतले जानकारी गराए ।

उनले भने, ‘दलितका लागि रासन कार्डको व्यवस्था गर्नुको साथै उनीहरुको विकासका लागि थुप्रै काम सरकारले गरेको छ ।’ जुन समुदायको जति जनसंख्या छ, त्यसले त्यति नै अधिकार पाउनुपर्ने, त्यसको त्यति नै राज्यमा प्रतिनिधित्व हुनुपर्ने काम मधेस प्रदेशको सरकारले गरेको उनको भनाइ छ । उनले यो काम सायद मधेस प्रदेशबाहेक अन्य कुनै प्रदेशले गर्न नसकेको दाबी गरे ।

सहिद परिवारको लालनपालन र उसको समाजिक सुरक्षाका लागि पनि सरकारले धेरै काम गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले सहिदको सम्मानका लागि मधेसी सहिद प्रतिष्ठान स्थापना गरेको बताए । सोही प्रतिष्ठानमार्फत सहिद परिवारका लागि थुप्रै काम भइरहेको र अगामी दिनमा पनि हुने उनले बताए ।

उनले आफ्नो कार्यकालमा प्रतिपक्षले रचनात्मक सहयोग गरेको बताउँदै उनले प्रतिपक्षीबाट आफूले कहिल्यै पनि दबाब महसुस नगरेको उल्लेख गरे ।

आगामी सरकारले पनि मधेसी, दलित, महिला, उत्पीडित तथा सहिद परिवारलगायतको हकमा काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारले थालेको कामलाई निरन्तरता दिन सुझाव दिए ।

अब बन्ने सरकार कस्तो हुन्छ भन्ने बारेमा केन्द्रीय सरकारको संरचनामा भर पर्ने उनले बताए । जनता समाजवादी पार्टी पनि मधेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै उनले पाँच वर्ष सफलतापूर्वक सरकार चलाएको कारण आउने दिनमा जसपालाई पुनः अवसर प्राप्त भएमा त्यसबाट पछाडि नहट्ने बताए । नयाँ सरकारका सम्बन्धमा पार्टीमा छलफल हुन बाँकी रहेकाले अहिले नै सबै कुरा भन्ने अवस्थामा नरहेको उनले प्रस्ट पारे । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com