Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

मेसी च्याम्पियन

४ पुस, काठमाडौं । मेसी इज गट । गटको जी ओ ए टीको अर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मत मतान्तर देखिएको थियो ।

तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याए ।

पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना पूरा भएन । उनी यसअघि पनि विश्वकपको उपाधि नजिक कहिल्यै पुगेनन् ।

तर मेसीले सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा जर्मनीसँग पराजित भएको थियो । यो अवधीमा मेसीकै करियरमा पनि धेरै उतारचढाव आए । लगातार फाइनलमा पुग्दै असफल हुँदा उनले राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरे । तर विश्वभरका फुटबल समर्थकदेखि अर्जेन्टिनाकै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएका थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि त्यसपछिका लगातार ६ खेल जित्दै च्याम्पियन बनेको छ ।

सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएयता ३६ वर्षसम्म अर्जेन्टिनाले अर्को उपाधि जित्न सकेको थिएन ।

अर्जन्टिनाको टिम पनि यस पटक जसरी पनि मेसीका लागि विश्वकप जित्न एकजुट भएर लागेको थियो । मेसी आफै पनि मोटिभेट थिए र पहिलो खेलमा हारे पनि उनले समर्थकलाई आफूहरुलाई विश्वास गर्न भनेका थिए ।

हरेक खेलमा जितको मानसिकतासहित अर्जेन्टिनाले खेल्यो । साढे तीन दशक उमेरमा पनि मेसीको जोश उस्तै देखिन्थ्यो । अर्जेन्टिनालाई जिताउन हरेक खेलमा उनले एकनासको प्रदर्शन गरे । कुनै खेलमा आफैं गोल गरे त कुनै खेलमा अरुका लागि सहयोग गरे । मेसीले क्रोएसिया विरुद्ध युलियन अल्भारेजका लागि मिलाएको पासमा जति चर्चा गरे पनि कम हुन्छ । उनको खेल हेर्दा लाग्यो त्यहाँ मेसी जादु गरिरहेका छन् र अरु उनको जादु हेरेर आनन्द लिइरहेका छन् । अनी विपक्षी खेलाडी त्यसमा नतमस्तक छन् । मेसीले समूह चरणमा दुई खेलमा गोल गरे । नकबउट चरणमा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमा पनि गोल गरेका उनले फाइनलमा २ गोल गरे । उनले फाइनल सहितका ७ मध्ये ६ खेलमा ७ गोल गरे भने ४ असिस्ट समेत गरेका थिए ।

कीर्तिमानका पर्याय मेसी

यस पटक मेसीले विश्वकप मात्र जितेनन् कतारमा विधिन्न कीर्तिमान बनाए । फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाए । कतारमा विश्वकप खेल्नुअघि मेसीले विश्वकपमा १९ खेल खेलेका थिए । तर उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे ।

यस्तै इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक मिनेट खेल्ने कीर्तिमान पनि उनले फ्रान्स विरुद्ध खेलमा तोडे । फ्रान्स विरुद्ध २४ मिनेट खेलेपछि मेसीले विश्वकपमा २ हजार २१७ मिनेट खेल्ने माल्दिनीको कीर्तिमानलाई तोडे ।

मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए। यसका लागि उनले महान खेलाडी म्याराडोनासहित गाब्रीएल बाटिस्टुर्टालाई समेत पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये मेसी पनि एक खेलाडी बने ।

विश्वकपमा मेसी र रोनाल्डोसहित मेक्सिकोका आन्द्रेज गुअर्डाडोले लगातार पाँच विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे । खेल, गोल मात्र नभएर असिस्टमा समेत मेसीले कीर्तिमान बनाए । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक मात्र खेलाडी बने ।

पोर्चुगलका रोनाल्डोले कतारमा एक गोल मात्र गरेका थिए र लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

फ्रान्स विरुद्ध फाइनलमा गोल गरेपछि मेसी विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बने ।

मेसी सबैभन्दा कम उमेर र सबैभन्दा पाको उमेरमा विश्वकपको एकै खेलमा गोल गर्ने र असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने समेत पहिलो खेलाडी बने ।

मेसीले विश्वकपमा सर्वाधिक १९ खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । उनले विश्वकपमा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । पेले र म्याराडोनाको लेभलमा कतारमा विश्वकप जित्नुअघि मेसीले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २० वर्षको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए ।

अर्जेन्टिनाले पछिल्लो परुटक १९९२ मा कोपा अमेरिका जितेको थियो ।

सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर त्यो यू(२३ टिमले खेल्ने भएकोले सिनियर टिमको मान्यता थिए । उमेर समूहमा पनि मेसीले विश्वकप जितिसकेका थिए ।

तर सात पटकका बालोन डी’ओर विजेतालाई अन्तर्राष्ट्रिय स्तरमा भने केही गर्न नसक्ने भनेर ट्याग लाग्ने गरेको थियो ।

विश्वकप जितेपनि मेसीले सबैको मुख बन्द गरेका मात्र छैनन् आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा समेत सामेल गराएका छन् । अनलाईनखबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com