Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताउनुभयो ।

आकासे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको उहाँको भनाइ थियोे ।

सिँचाइको सुविधा नभएको त्यस क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको सोही ठाउँका अर्का किसान अकबर सिंह खत्रीले बताउनुभयो । जिल्लाको अन्य क्षेत्रमासमेत बाली सुक्न थालेको किसानहरुले बताएका छन् । कतिपय ठाउँमा सिँचाइको लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । वर्षे बालीमासमेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका दार्चुलाका किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे ।

गएको वर्ष दार्चुलामा १४ हजार एक सय तीन मेक्ट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com