Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

प्रतिनिधि सभामा दलित समुदायबाट १६ सांसद, कुन पार्टीबाट कति जना?

प्रतिनिधि सभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके) सहित दलित समुदायबाट पाँच जना निर्वाचित भए।

नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका छन्।

एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँच जना दलित समुदायबाट छन्।
नेकपा (माओवादी केन्द्र) बाट भने रणेन्द्र बराइली (चितवन) र सुशीला श्रीपाइली (अर्घाखाँची) निर्वाचित भए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार र शिव नेपाली निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली निर्वाचित भएकी छन्।
प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
प्रतिनिधिसभामा जम्मा सांसदको स‌ंख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको सहभागिता छ।

विगतको तुलनामा यसपटक संसद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने संख्या कमजोर देखिएको छ। विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो। तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झर्‍यो। सोमध्ये दुई जना नेकपा (एमाले) बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभा निर्वाचन २०७४ मा १९ जना (छ प्रतिशत)को प्रतिनिधित्व भयो। सोमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए।
साथै प्रदेश सभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com