कञ्चनपुर : बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।
वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक पर्यो । उहाँले वडा कार्यालयमा अधयक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोज्नुभयो । हिरादेवीले वडा अध्यक्षलाई भेट्नु भएन । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गर्नुभयो । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उहाँले थाहा पाएपछि अटो चढेर त्यही जानुभयो । अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए, हिरादेवीले भन्नुभयो ।
कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उहाँले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिनुभयो । केही दिनयता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गर्नुभएको छ, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बस्नुभएको हो ।
उहाँ कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहनुभएको छ । सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ, उहाँले भन्नुभयो, थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।
नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो । यसअघि सडकका लागि एक करोड ४९ लाख रुपैयाँ बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख रुपैयाँ मात्रै दिएको छ ।
सडक निर्माणको काम अन्तिम चरणमा छ, यो सडक सम्पन्न गर्न विगतको जस्तै बजेट मागेका थियौँ, उहाँले भन्नुभयो, तर नगरपालिकाले प्रर्याप्त बजेट दिएन, कटौती गरेर दियो । वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउनुहुन्छ । कार्यपालिका बैठकमा यो माग कति पटक उठायौँ, उहाँहरू कुरा सुन्नुहुन्छ, निर्णय गर्दा बहुमतको आडमा एकलौटी अगाडि बढ्ने गर्नु भएको छ, उहाँले भन्नुभयो ।
वडा कार्यालयको फाइल, रजिस्टर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्नुहुन्छ । कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उहाँका अचेल दैनिकी नै बनेको छ । पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । त्यही सडकका लागि बजेटको माग गर्दै धर्ना बस्नु भएका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ । आउँदो नगर सभाबाट सडक कालोपत्रेका लागि बजेट छुट्याइनुपर्छ, त्यसका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनुपर्यो उहाँले भन्नुभयो, नभए आमरण अनसनमा बस्ने लगायत कार्यक्रममा जानुपर्ने हुन्छ ।रासस