Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्।
बाँके, बर्दिया, दाङ र रोल्पा कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन्।
चालु आवको चार महिनामा मात्रै ६७ उजुरी दर्ता भएका हुन्।

परेका उजुरीमध्ये ३३ फर्छ्यौट भइसकेका छन् भने एक सय ३० फर्छ्यौट हुन बाँकी छन्।
यो अवधिमा स्थानीय तहकै शिक्षाअन्तर्गतका ५६ उजुरी दर्ता भएकामा १३ उजुरी फर्छ्यौट भइसकेका छन्।

४३ उजुरी फर्छ्यौटको प्रक्रियामा रहेका छन्। अदुअआको नेपालगञ्जस्थित कार्यालयमा गत आव २०७८र७९ देखि चालु आवको कात्तिक महिनासम्म उद्योग, पर्यटन वन तथा वातावरणसम्बन्धी ३०, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणसम्बन्धी २४ र भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी १७ उजुरी दर्ता भएका छन्।

बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा चालु आवको कात्तिक मसान्तसम्म एक सय ७१ उजुरी दर्ता भएकामा सबैभन्दा बढी बाँकेका ८०, दाङका ५१, बर्दियाका २२ र रोल्पाका १८ उजुरी दर्ता भएका छन्।

गत आवमा बाँकेका ८६, दाङका ८५, बर्दियाका ४१ र रोल्पाका १७ रहेका छन्।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्नेजस्ता प्रवृत्ति पाइएको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख पौडेलले बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com