Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

म्यादी प्रहरी बनेर कमाएको पैसा पनि बुझ्न पाइनन् मायाले

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको शव हत्या गरिएको अवस्थामा जंगलमा फेला पर्‍यो।
गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।

२१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्।

त्यही क्रममा सशस्त्र प्रहरीका भरत कोलीसँग उनको चिनजान भयो। उनी चुनावमा भने पञ्चेश्वर ४ को मतदान केन्द्रमा खटिएका थिए। ड्युटी फरक-फरक ठाउँमा भए पनि माया र भरतबीच कुराकानी निरन्तर हुन थालेको थियो। उनीहरूले फोन, म्यासेज र म्यासेन्जरमा कुराकानी गरेका थिए।

कुराकानी बढ्दै गएपछि भरतले मायासँग विवाह गर्ने प्रस्ताव राखेका थिए। मायाका दाजु तिंकु लुहारका अनुसार भरतले मायासँग विवाहको प्रस्ताव राखेका थिए। चुनाव सकेपछि बहिनी माग्न आउने कुरा भरतले आफूसँग टेलिफोनमा गरेको तिंकु बताउँछन्।

भरतको घर बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ को सोलवाला हो। उनले सशस्त्र प्रहरीमा जागिर गर्न थालेको २ वर्ष भएको थियो।

घटना हुनुभन्दा २ दिन पहिले माया साथीहरूसँग स्थानीय बजार कुलाउ गएकी थिइन्। त्यहाँ बैंक पनि छ। म्यादी हुँदा काम गरेको पैसा बैंक खातामा आयो कि आएन भनेर बुझ्न र आएको रहेछ भने सरसामान किनेर ल्याउन माया त्यस दिन कुलाउ बजार गएकी थिइन्।

कुलाउमा भरत पनि आएका थिए। भरतसँग मायाको भेटघाट भयो। सँगै बजार गएका साथीहरू भने मायालाई त्यही छाडेर घर फर्किए। तर माया घर नफर्किएपछि उनका परिवारले माया खोइ भनेर सोधेका थिए। साथीहरूले माया साथीसँग छ, एकछिनमा आउँछ भन्ने जवाफ दिएका थिए।

‘त्यसदिन भरतले मायाको मोबाइल लगेछ, त्यही मोबाइलको लागि माया अबेरसम्म कुलाउमा थिइन्, तर केटोले मोबाइल दिएनछ, उनी मोबाइलबिना नै घर फर्किइन्,’ मायाका दाजु किट्ट लुहारलेले भने।

भरतले मंगलबार फेरि कुलाउ बजार आउन र मोबाइल लैजान भनेका थिए। मायाले १५ वर्षीय भतिजी नेहालाई पनि सँगै लगेकी थिइन्। घरबाट बिहान १० बजेतिर लुगा सिलाउन जाने भन्दै उनीहरू निस्किएका थिए।

भरतले उनीहरूलाई फेरि कुलाउ नआउन र शिवनाथ आउन जानकारी गराएका थिए। कुलाउबाटै माथितिर शिवनाथ जाने बाटो छ। त्यहीबाट उनीहरू त्यहाँ गए।
शिवनाथमा भरतसँग भेट भयो। भरतले मायासँगै गएकी नेहालाई भने ‘तिमी यहीँ बस, हामी पर बस्छौं। कुरा छ।’

नेहा उनीहरूलाई पर्खेर बसिन्। अबेरसम्म पनि भरत र माया आएनन्। करिब साढे २ घन्टापछि भरत मात्रै आए। भरतले नेहालाई पनि आक्रमण गर्न गएका थिए। भरतले नेहालाई चक्कु प्रहार गरेका थिए। उनले प्रतिकार गरिन् र त्यहाँबाट भागिन्। उनी घाइते थिइन्। उनको छातीमा चक्कु प्रहार भएको थियो। रातभर जंगलमा अलपत्र रहेकी घाइते नेहालाई भोलिपल्ट गोठालाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले उनको उद्धार गरेका थिए। उनको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ।

भरतले मोबाइल लिन आउनु भनेर बोलाएको र जंगलमा चक्कु प्रहार गरेको घाइते नेहाले बताएकी छन्। गाउँपालिकाले नेहाको उपचारका लागि ६० हजार उपलब्ध गराएको वडाध्यक्ष जनकबहादुर चन्दले बताए। पीडित परिवारलाई दुई लाख ५० हजार दिने निर्णय गरेको छ।

नेहालाई फेला पारेपछि मायाको खोजी गरिएको थियो। नेहा भेटिएको ठाउँभन्दा करिब तीन किमी पर शिवनाथ गाउँपालिका ६ मा नेपाल टेलिकमको टावर नजिकै जंगलमा मायाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। घटनास्थल सडकभन्दा करिब १५० मिटर माथि छ। मायाको खल्तीमा मोबाइल फेला परेको छ। घटनास्थलभन्दा केही पर मड भन्ने ठाउँमा भरतले फिर्ता गरेको मायाको मोबाइल फेला गरेको छ। घटनास्थलबाट रगत लागेको कालो क्याप, भाँचिएको अवस्थामा चक्कु बरामद भएको छ।

मायाले कक्षा १२ पास भएपछि पढाइलाई अघि बढाउन सकेकी थिइनन्। बुवाको निधनपछि उनी आमा र दाजुसँग बसेकी थिइन्। करिब २५ दिनअघि मात्र उनको दिदीको डेंगीका कारण मृत्यु भएको थियो।
तिंकुका अनुसार मायाले म्यादी प्रहरी बनेर कमाएको सबै पैसा पनि उनले बुझ्न पाइनन्।

‘एक पटक १२ हजार रुपैयाँ खातामा आयो भन्थी। अरू पैसा उसले बुझ्न पाइन,’ तिंकुले भने।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटना अनुसन्धानकै क्रममा रहेको छ।

बिहीबार मृतकका आफन्तले भरत कोलीविरूद्ध किटानी जाहेरी दर्ता गरेका छन्।
‘घटनासँग सम्बन्धित जे-जति कुरा छन्, अनुसन्धान पछि थाहा हुन्छ, अहिले नै यही हो भन्न सकिँदैन, घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ, आरोपी फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको छ,’ जोशीले भने।

प्रहरीका अनसार भरत कोली पोखरामा कार्यरत थिए। उनी चुनावपछि बिदामा घर फर्केका थिए।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com