Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उनले भने, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उनले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताए ।

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उनले बताए । त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदानस्थलको भौतिक स्थितिको स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाका सबै सुरक्षा निकायका प्रुमखले मतदानस्थलको स्थलगत अनुगमन गरेको बताए ।

“मतगणनास्थल सुरक्षित छ कि छैन मतदानस्थलको भौतिक अवस्थाको अनुगमन गरेका छौं”, उनले भने, “विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा तयारी गरिएको छ त्यसैका लागि सुरक्षा निकायका सबै प्रमुखले स्थलगत अवलोकन गर्नुभएको छ ।” निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् भने निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा जुटेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com