Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राजनीति सुरू गरेको ७ वर्षमै बेलायतको बागडोर सम्हाल्न लागेका ऋषि

कात्तिक, ८ काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँग ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।

संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले ल्याएको आर्थिक नीतिको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भइन्।

केही वर्षअघि युरोपियन युनियनबाट बाहिरिएको बेलायतको अर्थतन्त्र अहिले पनि स्थिर छैन। बहुमत पाएको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्री फेरेको फेर्‍यै गर्दा विपक्षीहरूले आमनिर्वाचनको माग गरिरहेका छन्। यस्तो बेलामा प्रधानमन्त्री बन्न लागेका ऋषिका लागि आगामी दिन चुनौतीपूर्ण हुने देखिन्छन्। तर सोमबार उनी कन्जरभेटिभ पार्टीको नेता चुनिँदा बेलायतभित्र र बाहिरको माहौल भने उत्साहपूर्ण छ। किनकी ऋषि बेलायतको प्रधानमन्त्री बन्नु आफैंमा एउटा ऐतिहासिक घटना हो। ४२ वर्षको उमेरमै बेलायती प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेका ऋषिका लागि यो व्यक्तिगत उपलब्धि त हो नै बेलायत र संसारभरिका अरू अल्पसंख्यकका लागि पनि प्रेरणाको स्रोत हो।

ऋषि बेलायतको प्रधानमन्त्री बन्ने भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि संसारका विभिन्न नेताहरूले बधाई दिएका छन्। भारतीयहरूले त पहिला आफूलाई उपनिवेश बनाएको बेलायतमा भारतीय मूलका व्यक्ति प्रधानमन्त्री भए भनेर खुसी मनाइरहेका छन्।

सन् १९८० मा जन्मिएका ऋषिले सात वर्षअघि मात्रै राजनीतिक यात्रा थालेका थिए। ऋषिका हजुरबुबा(हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्।

राजनीतिमा आउनुभन्दा अघि इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्समा काम गर्थे। उनी दुई वटा हेज फन्डमा पनि जोडिएका थिए।

२०१५ मा पहिलो पटक सांसद भएका उनी बेलायत युरोपियन युनियनबाट अलग हुनुपर्छ भन्ने विषयमा वकालत गर्थे। जनमत संग्रहमा इयू छोड्नु पर्ने पक्षले जितेको थियो।

थेरेसा मेको सरकारमा ऋषिलाई स्थानीय सरकारसम्बन्धी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सन् २०२० मा उनी बोरिस जोनसनको सरकारमा अर्थमन्त्री बनेका थिए। कोरोना कालमा बेलायती अर्थतन्त्र सम्हालेपछि उनको चर्चा चुलिएको थियो। पछि उनले जोन्सनसँग असहमति जनाउँदै राजीनामा दिएका थिए। अरू मन्त्रीहरूले पनि धमाधम राजीनामा दिएपछि केही समयमै जोनसन सरकार ढल्यो।

त्यसपछि पहिलो पटक ऋषिले प्रधानमन्त्री बन्ने दौड सुरू गरेका थिए। कन्जरभेटिभ पार्टीको नेता बन्ने पहिलो दौडमा उनी असफल भए। गत भदौ २० उनी अर्की सांसद लिज ट्रससँग पराजित भए। त्यो पराजयको दुई महिना नपुग्दै ऋषि नम्बर १० डाउनिङ स्ट्रिटमा पुग्न सफल भएका छन्।

भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनकी श्रीमती भारतीय अर्बपति नारायण मुर्तीकी छोरी अक्षता मुर्ति हुन्। अक्षता र ऋषिले सन् २००९ मा भारतको बैंग्लुरूमा विवाह गरेका थिए।

अक्षताका बुवा नारायण प्रविधि कम्पनी इन्फोसिसका संस्थापक हुन् भने उनी फेसन डिजाइनर हुन्। ऋषि र अक्षताका दुई छोरी छन्।

द सन्डे टाइम्सका अनुसार ऋषि र अक्षतासँग ७३ करोड पाउन्ड सम्पत्ति छ। उनीहरू बेलायतका २५० वटा धनाढ्य परिवारभित्र पर्छन्।

उनी प्रधानमन्त्री हुने भएपछि न्युयोर्क टाइम्सले लेखेको छ( इतिहासमा पहिलो पटक यस्तो हुँदैछ कि डाउनिङ स्ट्रिटमा बस्ने मान्छे बकिङहम दरबारमा बस्नेभन्दा धनी छन्।

ऋषि बेलायतको पहिलो अश्वेत, पहिलो एसियाली मूलको र पहिलो हिन्दु प्रधानमन्त्री हुन्।

२०१७ को आमनिर्वाचनपछि उनले हिन्दु धार्मिक ग्रन्थ गीतामा हात राखेर सांसदको सपथ लिएका थिए।

‘मेरो आस्थाले मलाई शक्ति दिन्छ, जीवनको उद्देश्य दिन्छ र यो म को हुँ भन्ने कुराको एक भाग हो,’ उनले भनेका छन्।

दुई वर्षअघि अर्थमन्त्री हुँदा दीपावलीको अवसरमा ऋषिले नम्बर ११ डाउनिङ स्ट्रिटमा दीप प्रज्वलन गरेका थिए।

लोएड जर्जपछि उनी सायद रक्सी नपिउने पहिलो बेलायती प्रधानमन्त्री हुनेछन। उनको मन पर्ने पेय पदार्थ कोकाकोला हो। एउटा अन्तर्वार्तामा उनले आफूलाई कोकाकोलाको अम्मली भएको बताएका थिए।

ऋषि प्रधानमन्त्री भएसँगै बेलायतले २ सय वर्षपछि ४२ वर्षको प्रधानमन्त्री पाएको छ। सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए। त्यसपछि यति कम उमेरमा कोही पनि बेलायती प्रधानमन्त्री भएका थिएनन्।

बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्रीको इतिहास विलियम पिटका नाममा छ। उनी २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए। सन् १७५९ मा जन्मेका उनी सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए।

सुनक बेलायतको अर्थमन्त्री हुँदा पनि अमेरिकाको ग्रिनकार्ड बोकेको भन्दै आलोचना भएको थियो।

उनी प्रधानमन्त्री चुनिएपछि संकटोन्मुख बेलायती अर्थतन्त्र ट्र्याकमा आउने अपेक्षा गरिएको छ। उनी कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ब्रिटिस पाउन्ड केही मजबुद् भएको छ। प्रधानमन्त्रीका रूपमा आफ्नो प्रमुख प्राथमिकता स्थिरता र एकता हुने ऋषिले बताएका छन्।

(बिबिसी, द गार्डियन, न्युयोर्क टाइम्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com