Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दाङका फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।

घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बुढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेका छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर कोल्डस्टोरमा राखिने उनीहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताए । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उनले बताए ।

“जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन”, उनले भने । उनले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए । उनले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गरेका छन् । उनले विगतका वर्षदेखि फूलखेती गर्दै आएका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका लोकेन्द्रले जिल्लामा दसैं तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् ।

“दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भने । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोकाले बताए । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । “काठमाडौंँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, उनले भने । अहिले उनले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताए ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताए । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनको भनाइ छ । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उनले बताए । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आएका हुन् । उनले पनि अहिले फूले टिपेर माला बनाउन थालेका छन् । तिहारको लागि मागसमेत हुन थालेको उनको भनाइ छ ।

“माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ”, उनले भने । माला बनाएर कोल्ड स्टोरमा राखिने उनले बताए । उनका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला रु एक सयदेखि तीन सयसम्म बिक्री गर्ने गरेको उनको भनाइ छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनले बताए ।

अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उनले बताए । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उनले बताए । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com