Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

बेलायतमा प्रधानमन्त्रीको राजीनामा माग

सत्तामा आएको डेड महिनामै बेलायतकी प्रधानमन्त्री लिज ट्रसको प्रधानमन्त्रीको निरन्तरतामा गम्भीर प्रश्न उठ्न थालेको छ । मंगलबार दिनभरको हलचलपछि आम्र्ड फोस मन्त्री जेम्स हेपीले ट्रसको बचाउ गर्दै अहिले प्रधानमन्त्रीलाई बदल्ने समय नभएको बताए । उनले ट्रस हटाएमा पार्टीमा एकता बढ्ने भन्ने दावीलाई खारेज गरे । ट्रस आफैले पनि आगामी आम चुनावसम्म कन्जरभेटिभ पार्टीको नेतृत्व गर्ने बताएकी छन् ।

तर, लेबर पार्टीले चुनावको माग गरिरहेको छ । बीबीसीका राजनीतिक सम्पादक क्रिस मेसनसँग कुरा गर्दै ट्रसले बजेटमा भएका गल्तीका लागि माफी मागेकी छन् । सोमबार, वित्त मन्त्री जेरेमी हन्टले कर कटौती गर्ने उनका पूर्ववर्ती क्वाजी क्वार्टेङ्गका सबै निर्णयहरू उल्टाए ।

प्रधानमन्त्रीले मंगलबार बोलाएको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले सबै मन्त्रीहरुलाई अघिल्लो बजेट उल्टिएको जानकारी दिएका थिए । हन्टले सबै मन्त्रालयमा कटौती गर्नुपर्ने र बजेट कटौतीका कारण धेरै मन्त्रीहरु निराश हुन सक्ने बताए । धेरैका लागि यो राजीनामाको कारण पनि बन्न सक्ने समेत उनले बताए । ट्रस क्याबिनेट मन्त्री र ब्याकबेन्चर मन्त्रीहरूसँग निरन्तर सम्पर्कमा रहेर पार्टीलाई विश्वासमा लिने प्रयास गरिरहेकी छन् ।

‘पार्टीभित्रको लडाइँ’

तर कन्जरभेटिभ पार्टीभित्र स्थिति सामान्य छैन र प्रधानमन्त्रीलाई हटाउनेसम्मको वहस भइरहेको छ । धेरै सांसदहरूले पार्टीलाई बलियो राख्ने हो भन यो आवश्यक भएको र ट्रसलाई सकेसम्म चाँडो हटाउनुपर्ने बताएका छन् ।

एक पूर्व क्याबिनेट मन्त्रीले भने–‘जे हुनुपर्छ, छिटो गरौं ।’ अन्य सांसदहरूले हन्टको नियुक्तिपछि प्रधानमन्त्री ट्रसले केही समय हेरिदिन आग्रह गरेको र पुरानो योजनाबाट पछि हटेकाले हेर्नुपर्ने बताईरहेका छन् । अब वित्त मन्त्रीले अक्टोबर ३१ मा आर्थिक वक्तव्यमा के के समावेश गर्नेछन् त्यो हेर्न बाँकी छ ।

हेप्पीले सार्वजनिक रूपमा अर्को प्रधानमन्त्री बदलेर ‘कन्जर्भेटिभ पार्टी टुटफुट’ हुन दिन नसक्ने बताए । ‘राजनीतिक र आर्थिक अस्थिरताको मूल्य कति हुन्छ, हामीले पछिल्ला दुई–तीन हप्तामा देखेका छौं,’ हेप्पीले भने ।

हेप्पीले पनि मिनी बजेट ‘उपयोगी’ सावित नभएको स्वीकार गर्दै बीबीसीसँगको कुराकानीमा उनीजस्ता पार्टीका धेरै सांसदहरू ‘चिन्तित’ रहेको तर ‘सँगै अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको विश्वासमा रहेको’ पनि बताए ।

विपक्षी लेबर पार्टीका नेता सर केयर स्टारमरले भने ट्रसलाई राजीनामा दिएर चुनावको मिति घोषणा गर्न आह्वान गरेका छन् । ‘सबैभन्दा ठूलो खतरा भनेको अहिलेकै स्थितिलाई निरन्तरता दिँदै चुनाव नगराउनु हुन्छ । अहिलेको स्थिति सम्हाल्ने हो भने चुनावबाट लेबर सरकार ल्याएर अर्थतन्त्र सुधार्नु पर्छ,’ लेबर नेता केयरले भने ।

यूगर्भले गरेको मतसर्वेक्षणमा मंगलबार ट्रसको अप्रभल दर जम्मा १० प्रतिशत थियो, अर्थात बेलायतका १० मध्ये एकजना मात्रै ट्रस प्रधानमन्त्रीको रूपमा रहेको हेर्न चाहन्थे ।

बजेटमा यू–टर्न

सोमबार, वित्त मन्त्री जेरेमी हन्टले गत महिना ल्याइएको मिनी–बजेटमा समावेश भएका लगभग सबै कर कटौतीहरू खारेज गरिएको घोषणा गरे । उनले सरकारको ऊर्जा सहयोग प्याकेज अप्रिलदेखि घटाउने बताए । लिज ट्रसले उमेदवारी प्रस्तुत गर्दा यो नीतिको धेरै चर्चा गरेकी थिइन् ।

पूर्व क्याबिनेट मन्त्री एन्ड्र्यू मिचेलले कन्जरभेटिभ सांसदहरूको लागि लिज ट्रस र वित्त मन्त्री जेरेमी हन्ट नेतृत्वको सरकार उत्तम हुने बताए । एन्ड्रयू मिचेलले भने ,‘यदि दुई नेताको सहकार्यले पनि काम गरेन भने कन्जरभेटिभ पार्टीको संसदीय दलले पुनर्विचार गर्नुपर्नेछ ।’

पछिल्लो समय कन्जरभेटिभ पार्टीका पाँच सांसदले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा माग गरेका छन्, जबकि पार्टीको नियमअनुसार एक वर्षसम्म उनलाई चुनौती दिन नसकिने उल्लेख छ । पार्टीभित्रको मध्यमार्गी समूहले गरेको वैठकमा कयौं सांसदले क्याबिनेट फेरबदलको माग गरे ।

कतिपय सांसदले ब्याकबेन्चरको प्रतिनिधित्व गर्ने र पार्टी नेतृत्व चयनसम्बन्धि नियमावली तय गर्ने ‘१९२२ समिति’लाई पत्र पठाएको बताइएको छ । तथापि पत्र लेख्ने सांसदको संख्या भने एकिन भएको छैन ।

कसरी आयो संकट ?

ट्रस प्रधानमन्त्री भएको केही समयपछि उनका वित्त मन्त्री तथा राजनीतिक सहयोगी क्वासी क्वारटेङले एक ‘मिनी बजेट, प्रस्ताव गरे । त्यसमा विगतका सरकारले धनी तथा कर्पोरेटहरुमाथि बढाएका करहरु कटौती गरियो । त्यस्तै धनाढ्य लगानीकर्ता आकर्षित गर्न विभिन्न विषयमा कयौं कर कटौतीहरु घोषणा गरिए ।

यी घोषणाले लगानीकर्ताहरु प्रोत्साहित हुने ट्रसको विश्वास थियो । तर भयो त्यसको उल्टो । आयको नयाँ मार्ग नपहिल्याई कर कटौती गरिएपछि बजारमा डर उत्पन्न भयो, नयाँ नीतिको दिगोपनलाई लिएर । बेलायतको वित्तीय बजार एक हप्तासम्म निरन्तर खस्किएन मात्र विदेशी लगानीकर्ताहरु यस्तो माहोलबाट आत्तिएर बाहिरिए । त्यसले गर्दा देशको मुद्रा पाउण्ड कयौं दशकयताकै सबैभन्दा बढि अबमुल्यनबाट गुर्जियो ।

पहिलेदेखि उच्च महगीले जीवनस्तर प्रभावित भएको अवस्थामा यो नयाँ समस्या आम मानिस पनि आत्तिएका छन् । र यो आर्थिक अराजकताले स्वभावतः राजनीतिक संकट निम्त्यायो । सेप्टेम्बर ५ मा सत्ता सम्हालेकी ट्रसको राजनीतिक पकड यति द्रुत रूपमा कमजोर भइरहेको छ कि डेड महिनामै उनकै पार्टीका सांसदले उनको राजीनामा माग्ने अवस्था आएको छ ।

गत एक सातादेखि ट्रसले उनको सरकार बचाउनको लागि क्षति न्युनीकरणको प्रयास गरिरहेकी छन् । ट्रसले उनको सबैभन्दा विश्वासपात्र र अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई बर्खास्त गरिन् । ट्रसका नयाँ अर्थमन्त्री हन्टले सोमबार आर्थिक संकट कम गर्ने लक्षका साथ मिनी बजेटमा घोषणा गरिएका सबै कर कटौतीहरु फिर्ता भएको घोषणा गरेका छन् ।

यो घोषणाले बजारमा केही सुधार भएको भए पनि ट्रसको नेतृत्वमा भने ठूलो प्रश्न उठेको छ । उनी हिजो पार्टीको नेतृत्वमा उठ्ने समयमा कर कटौतीको मुख्य नाराका साथ उठेकी थिइन् । उनको एजेण्डा कार्यान्वयनमा गएर असफल भएर त्यसलाई फिर्ता लिइसकेपछि अब उनी नेतृत्वमा बसिरहन नहुने उनको राजीनामा माग्नेहरुको तर्क छ । धनाढ्यहरुप्रति नरम हुने गरेको कन्जरभेटिभ पार्टीभित्रै समेत ट्रसले धनीहरुलाई धेरै खुसी बनाउन खोज्दा अहिले आफै फसेकी आरोप लागिरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com