Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

दरबारमार्गबाट पछ्याएर प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार

दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।

डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतको टिमले असोज २५ मा बिहान क्लब अगाडिबाट बाउन्सरलाई फलो गरेका थिए । लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टेको ओरालोमा कुरेर बसेका थप युवाहरु मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण आक्रमण गरिएको आरोपीहरुले प्रहरीसँग स्वीकार गरेका छन् । घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपीहरुले चुच्चेपाटीको रिकण्डीशनबाट मोटरसाइकल भाडामा लगेर प्रयोग गरेका हुन् । कपनस्थित दावा लामाको डेराबाट खुकुरी बरामद गरिएको छ ।

घटनामा संलग्न मध्येका दोलखाको सैलुङ घर भएका विनोद तामाङ र जीवन तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर प्रहरी वृत सोह्रखुट्टेमा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले रामेछाप घर भएका विकास श्रेष्ठ, दोलखाका प्रदिप लामा, सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र कार्की, काभ्रेका जितेन लामा र सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दावादोर्जे शेर्पा उर्फ च्याङ्बालाई पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने ग्याल्जेन लामा अझै फरार छन् । पक्राउ परेकामध्ये विनोद तामाङ घटनास्थलमा देखिएका छैनन् ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com