Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सिराहामा दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व छ।

जिल्लामा चार संघीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरूले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको संख्या बढेको आकलन गर्न सकिन्छ। तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन्।

सिराहा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघ सिराहाका पूर्वअध्यक्ष देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए।

उनले भने, दलीय जनप्रतिनिधिले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले आफूले त्यो आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हुँ।’

आफ्नो चुनावी एजेण्डा नै जनताको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा र सरसफाइ रहेकाले दलीय प्रतिनिधिलाई नभएर स्वतन्त्रलाई नै रोज्न मतदातालाई आग्रह गरे।

सिराहा क्षेत्र नं २ बाट नै प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक, समालोचक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यही दलमा बसेर उनीहरूको विरोध गर्न नसकिने बताए।

उनले भने, ‘एउटा कालखण्ड राजनीति पार्टीमा बिताएँ, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न असम्भव भएकाले म स्वतन्त्र भए।’
प्रतिनिधि सभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ४८ ले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रदेश सभाको आठ निर्वाचन क्षेत्रका लागि एक सय १९ जनाले उम्मेदवारी दिएका छन् भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेश सभाका लागि सिराहाका १२ क्षेत्रमा राजनीतिक पार्टीको भन्दा करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभाका लागि सिराहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन्। त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ।

त्यस्तै, सिराहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन्। क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) बाट १६ को उम्मेदवारी पर्दा छ स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन्। (ख) बाट १४ उम्मेदवारमध्ये छ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन्। सिराहा क्षेत्र नं २ को (क) बाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामध्ये आठ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन्। (ख) बाट १६ जनाको उम्मेदवारी पर्दा नौ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् ।

त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेशसभा (क) का लागि १८ जनाले उम्मेदवारी दिँदा १३ स्वतन्त्र र पाँच पार्टीका उम्मेदवारी परेको छ। (ख) मा १४ जनामध्ये नौ स्वतन्त्र र पाँच पार्टीका छन्। क्षेत्र नं ४ (क) बाट जम्मा १८ जनाले उम्मेदवारी दिएकामध्ये १० स्वतन्त्र र आठ पार्टीका छन् भने (ख) मा १८ जनामध्ये ११ स्वतन्त्र र सात राजनीतिक पार्टीका उम्मेदवार छन्।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com