Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तिहारलाई भारतबाट ३ लाख थान सयपत्रीको माला आयात गरिने

काठमाडौँ — यो वर्ष तिहारको लागि भारतबाट १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला आयात गरिने छ । गत वर्षको तुलनामा ६३ हजार थान सयपत्री माला कम आयात गरिने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले जानकारी दिए । गत वर्ष १४ लाख ५२ हजार थान सयपत्री माला स्वदेशी फूलबाटै तयार गरिएको थियो भने ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो ।

यस वर्ष भने १७ लाख थान माला आन्तरिक उत्पादनबाट तयार गरिने छ भने ३ लाख सयपत्री माला आयात हुने उनले बताए । ‘यस वर्ष तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने अनुमान गरेका छौं,’ उनले भने, ‘मखमली, गोदावरी माला आन्तरिक उत्पादनले नै पुग्छ । सयपत्री माला भने पुग्दैन । त्यसैले ३ लाख थान मगाउँछौं ।’

देशका विभिन्न ठाउँमा व्यावसायिक खेती हुन थालेपछि यस वर्ष सयपत्री फूलका मालाको आयात घटाउने तयारी भइरहेको छ ।बजारमा चलहलपहल बढेकाले यस वर्ष सयपत्री फूलको कारोबार १० प्रतिशतले बढ्ने पनि एसोसिएसनको आंकलन छ । ‘गत वर्ष कोरोना महामारी थियो । तर यस वर्ष छैन । त्यसैले सयपत्री फूलको माग बढ्ने अपेक्षा छ,’ लामाले भने, ‘पछिल्ला हरेक वर्षमा १० देखि १५ प्रतिशतले फूलको माग बढ्दै गएको छ ।’

विशेषगरी ग्रामीण क्षेत्रमा सयपत्री फूलको माग पूर्ण रूपमा आन्तरिक उत्पादनले नै धान्ने उनको भनाइ छ । सहरी क्षेत्रमा ८५ प्रतिशत आन्तरिक उत्पादन र १५ प्रतिशत मात्र आयातको भर पर्नुपर्ने अवस्था रहेको उनले बताए ।

यस वर्ष तिहारमा ११ करोड रुपैयाँको सयपत्री, १ करोड ३० लाख रुपैयाँको मखमली र ८० लाख रुपैयाँको गोदावरी मालाको कारोबार हुने एसोसिएसनको अनुमान छ । गत वर्ष ९ करोड ९८ लाखको सयपत्रीको माला, एक करोड ६ लाखको मखमली र ५२ लाखको गोदावरी माला बिक्री भएको थियो । गत वर्ष कुल १९ लाख ३५ हजार थान माला खपत हुँदा यस वर्ष २३ लाख ४५ हजार थान बिक्री हुने अनुमान छ ।कान्तिपुर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com