Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सत्तारूढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज शुक्रवार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारूढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा चलिरहेको छ ।

आज बिहानदेखि बालुवाटारमा चलिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो । हिजो बिहीवारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।

लोसपाका नेता अनिल झा सत्तारूढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिनुभयो । कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यही असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलि शनिवारसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको बताइएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com