Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

असोज २४ गते मात्रै म्याद थप हुने, यसरी अगाडि बढ्नेछ सन्दीपको कानुनी प्रक्रिया

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरु गरेको थियो ।

तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिबेला उनी जमैकामा क्यारेबियन प्रिमियर लीग खेल्नका लागि पुगेका थिए । तर नेपालमा आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दीप लीग छाडेर निस्केका थिए ।

जमैका छाडेपछि सन्दीप कहाँ गए भन्ने टुङ्गो लागेको थिएन । लामो समयसम्म पनि प्रहरीको सम्पर्कमा नआएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिस त्यस्तो नोटिस हो, जहाँ इन्टरपोलमा संलग्न भएका देशले खोजिएका व्यक्ति आफ्नो देशमा भए नोटिस जारी गर्ने देशमा फिर्ता पठाइ दिनुपर्छ ।

जमैकाबाट कतार आइपुगेका सन्दीप केही दिन कतारमै बसेका थिए । कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका थिए । नेपालको विमानस्थलबाट बाहिर निस्किए लगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । अब प्रहरीले सुरुमा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ ।

फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्ने हुन्छ । रातोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com