Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।

डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एकरएक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ।

डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा डेंगीको संक्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ।
डेंगी एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ।

डेंगीबाट ३८ को मृत्यु

नेपालमा हालसम्म डेंगी संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। गत साउनयता २८ हजार एक सय नौ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। नेपालमा पहिलो पटक वि।सं २०६१ मा डेंगीको बिरामी देखिएको थियो।

प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
डेंगी संक्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com