Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

निरन्तर घरेलु हिंसामा परेकी पिंकी, जसले अन्ततः संसार छाडिन्

१२ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१ मोतीबागका दीपेन्द्र कुर्मीलाई पिंकीको हात दिँदै गर्दा दाजु मनिषप्रसाद कुर्मीलाई लागेको थियो, ‘परिवारको एक्लो छोरो, बैंकमा जागिरे केटासँग विवाह गरिदिँदा बहिनीले सुख पाउँछे ।’

१४ मंसिर २०६७ मा धुमधामसँग विवाह भयो । पिंकीको माइतीले ४० लाख नगद र १० तोला सुन दाइजो पनि दिएको थियो । तर पिंकीले कहिल्यै सुख पाइनन् । निरन्तर घरेलु हिंसा भोगेकी उनले ३२ वर्षकै उमेरमा संसार छाडिन् । २ असोज ०७९ को साँझ ७ बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको छ । माइती पक्ष भने यसलाई हत्या भन्छन् ।

पिंकीको श्रीमान दीपेन्द्र बैंक एसबीआई बैंकको वीरगञ्ज शाखा म्यानेजर हुन् । उनले निरन्तर घरेलु हिंसा गरेको र त्यसक्रममा टाउकोमा लागेको चोटका कारण उनको मृत्यु भएको माइतीको दाबी छ । पिंकीको दाजु मनिषले जिल्ला प्रहरी कार्यालय, बारामा ‘कर्तव्य ज्यान’ सम्बन्धी जाहेरी दिएका छन् ।

पिंकीको ३६ वर्षीय श्रीमान दीपेन्द्र, ससुरा मुरारी प्रसाद जैसवार (कुर्मी), सासु मन्तुरादेवी र काका ससुरा जगतप्रसाद जैसवारविरुद्ध ४ असोजमा किटानी जाहेरी परेको हो । प्रहरीले दीपेन्द्रलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

माइती पक्षको पक्की घर र हार्डवेयरको व्यापार भएकाले दीपेन्द्रले नगद मागेर ल्याउन दबाव दिएको र नमान्दा पिंकीमाथि कुटपिट भएको माइती पक्षको दाबी छ । भदौ १८ गते साँझ पनि उनीहरुले लात्ति, मुक्का र लाठीले हान्दा पिंकीको टाउको, छाती र हातखुट्टामा चोट लागेको जाहेरीमा उल्लेख छ ।

पिंकीलाई भोलिपल्ट वीरगञ्जस्थित डा. उदयनारायण सिंहको क्लिनिकमा उपचारका लागि लगिएको थियो । नाक र कानबाट रक्तश्राव हुनुका साथै पिंकीले वान्ता समेत गरिरहेकी थिइन् । चिकित्सकले सिटी स्क्यान गराउन सल्लाह दिएपनि वेवास्ता गरेर घरमा लगेर राखेको आरोप माइती पक्षको छ ।

पिंकीको अवस्था गम्भीर भएपछि २७ भदौ वीरगञ्जकै एडभान्स अस्पताल लगिएको थियो । भोलिपल्ट थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो, तर चितवन मेडिकल कलेजले काठमाडौं लैजान भनेपछि मेडिसिटीमा भर्ना भइन् । उपचारका क्रममा २ असोजमा उनको मृत्यु भएपछि ३ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेलमा पोष्टमार्टमका गराएको थियो । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

निरन्तर घरेलु हिंसाको चपेटामा

पिंकीको दिदी सपनाका अनुसार विवाह भएकै वर्ष दीपेन्द्रको बैंकमा प्रमोसन भयो । त्यसपछि उनले श्रीमतीलाई माइतीसँग कार मागेर ल्याउन दबाव दिन थाले । कार दिन सक्ने हैसियत माइतीको नभएको भन्दै पिंकीले त्यसलाई टरेपछि माइती आउजाउ गर्न र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने काम भयो ।

जनकपुरमा रहँदा पिंकीको गर्भमा पहिलो सन्तान बस्यो । गर्भमा बच्चा रहँकै बखत पिंकीलाई पति दीपेन्द्रले निर्घात कुटपीट गरेको दाजु मनिष सुनाउँछन् । ‘बहिनी प्रेगनेन्ट थिइन् उनलाई निर्घात कुटपिट गरेको थाहा पाएपछि जनकपुर गएर बचाएर चितवन ल्याएँ, नारायणघाटमै भाञ्जी जन्मिइन्’, उनले भने, ‘घरमा छोरी भएको भनी खबर गरेका थियौं, हेर्न समेत आएनन् ।’

पिंकीका दाजु मनिष र दिदी सपना ।
एकातिर दाइजोमा कारको माग, अर्कोतिर छोरी जन्माएको निहुँमा पिंकीमाथि श्रीमान र परिवारका सदस्यको हिंसा बढ्यो । पिंकीले घरमै एक पटक आत्महत्याको प्रयास समेत गरेकी थिइन् । छिमेकीले बेलैमा थाहा पाएकाले तत्काल उद्धार गरे ।

‘पटक पटक समाज बोलाएर छलफल गरेर अबदेखि यातना नदिने, राम्रो व्यवहार गर्ने भनेर सम्झौता भयो, तर उनीहरुको व्यवहारमा कहिल्यै परिवर्तन आएन’, मनिषले भने, ‘परिवारको एक्लो छोरो, बैंकमा जागिरे भएकाले बहिनीले सुख पाउँछे भनेर मागे जति दाइजो दिएर विहे गरिदियौं तर बहिनीले कहिल्यै सुखको सास फेर्न पाइनन् ।’

माइती पइाका अनुसार पिंकीले समाज, प्रहरीमात्र होइन, न्यायालयको समेत ढोका ढकढक्याएकी थिइन् । ४ मंसिर ०७५ मा जिल्ला अदालत, बारामा माना चामल मद्धा समते हालिन् । तर अदालतमा भएको छलफलमा दीपेन्द्रले रोइकराई गरे, पिंकीले दुईवटा बच्चाको मुख हेरेर माफी दिइन् र मुद्दा फिर्ता लिइन् । तर त्यसपछि पनि घरेलु हिंसा भने हुन छाडेन ।

छिमेकी समेत रहेकी कलैयाकी महिला अधिकारकर्मी सरस्वती खनाल पिंकीलाई परिवारका सदस्यले निरन्तर यातना दिने गरेको बताउँछिन् । ‘बिहे भएर आएदेखि नै पिंकीलाई परिवारबाट यातना दिन थालिएको थियो’, उनले भनिन् ‘अधिकारकर्मीको हिसाबले त्यसो नगर्न भन्दा उल्टै धाक धम्की दिन्थे ।’

डाक्टरसँग विवादले शंशय बढायो

शरीरमा घाउचोट भएका कारण निधनपछि पिंकीको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । पिंकीको शव पोस्टमार्टममा संलग्न चिकित्सकसँग दीपेन्द्र पक्षधरले विवाद गरेका छन्, जुन अडियो सम्वादले माइती पक्षले उठाएको प्रश्नलाई बल दिन्छ ।

सार्वजनिक भएको अडियो सम्वादमा महिला चिकित्सकले जिउ र टाउकोमा देखिएको निल डाम फरक देखिएको र टाउकोमा रगत जमेको बताएकी छन् । ‘टाउको र जिउमा देखिएको निलडामको कलर फरक छ । ग्रिन र पर्पल छ । जिउमा देखिएको निलडाम नयाँ हो । उहाँको टाउकोमा दुई ठाउँमा चोट छ । मेरो रिपोर्टमा त्यो आउँछ । दुईवटै गिदीमा एसडीएच (सब ड्युरल हेमोरेज) छ’ उनले भनिन् ‘मेरो रिपोर्ट मात्रै प्रमाण हुन्न, प्रहरीले अनुसन्धान गर्छ ।’

दीपेन्द्रका पक्षधरका मानिसहरुले भने मेडीसिटीका न्युरो सर्जन गोपाल रमन शर्माले प्लेटलेट्सको कमीले रक्तश्राव हुन्छ भनेर भनेको भन्दै अर्को डाक्टरसँग पोष्टमार्टम गराउने चेतावनी दिएका छन् । पिंकीका श्रीमान दीपेन्द्र पनि गिँजाबाट रगत आउन नरोकिएपछि पिंकीलाई अस्पताल लगिएको बताउँछन् ।

१८ भदौमा डेन्टिस कहाँ जाँदा गिजामा कुनै समस्या नदेखिएकाले भोलिपल्ट फिजिसियनकहाँ लगेको बताए । रगत जाँच गर्दा प्लेटलेट्स ५० हजार देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराएको भन्दै उनले टाउकोको चोटबारे थाहा नभएको बताए । ‘एकातिर बुढी बितेको छ । अर्कोतिर गलत आरोपका कारण मेरो इमेजमा दाग लाग्दैछ’, सार्वजनिक भएको अडियो सम्वादमा उनले पोस्टमार्टमा संलक्ष्न डाक्टरलाई भनेका छन्, ‘हजुरले दिएको रिपोर्टले मेरो जीवन सकियो, जे गर्ने हजुरकै हातमा छ ।’

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी पोष्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्युको कारण बताउन नसिकने बताउँछन् । ‘हामीले एकदमै संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘प्रहरीको अनुसन्धानमा कुनै कमी कमजोरी हुन दिन्नौं ।’अनलाइन बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com