Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बुढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै

झापा – दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बुढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ मा रहेको सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवर्द्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।

गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिनसमेत थालेको बताउनुभयो ।

हल्दिबारी गाउँपालिका बस्नुहुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा अहिले ६ सय ५० वटा गाई रहेको उहाँले जानकारी दिनुभयो । गौशाला त सुरु गरियो गाई भएनन्, भारद्वाजले भन्नुभयो, गाउँ बस्ती, टोल, सामुदायिक सङ्घसंस्थालगायतका ठाउँमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बुढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैँ ल्याइदिनुहुन्छ।

२०७५ सालपछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वजले बताउनुभयो । हिजो बुढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरिब, दुःखीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकामा खुसी व्यक्त गर्नुहुन्छ । उहाँले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरु उत्पादन गरेको बताउनुभयो ।

अहिलेसम्ममा ७५ उन्नत जातका बीउ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको छ । कुनै किसानले बुढो गाई हामीलाई दिनुभयो भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ, उहाँले भन्नुभयो, गरिब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ । भारद्वजलले गोठमा दैनिकजसो १५ देखि २० दुहुनो गाई हुने गरेको बताउनुभयो ।

गाईको दूधबाट गौशाला समितिले अहिले घिउ, पन्चगव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो एक हजार तीन सयमा रुपैयाँमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वज बताउनुहुन्छ । चरनमा गएका गाई दिउँसो ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि अहिले २० गौसंरक्षक छन् । उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौले मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com