Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चितवनमा भन्सार छलेर ल्याइएका माछा नष्ट

चितवन – भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ ।
हिजो चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगञ्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र मत्स्य व्यवसायी सङ्घले संयुक्तरूपमा नियन्त्रणमा लिएका हुन् ।

बसमा १२ कार्टुन नैनी माछा, एक–एक कार्टुन रहु र पङ्गास माछा ल्याइएको थियो । करिब ५ सय ६० केजी माछामध्ये ५० देखि ६० प्रतिशत सडेको अवस्थामा पाइएको पशु क्वरेण्टीन चेकपोष्ट रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरिष गौतमले जानकारी दिनुभयो । माछालाई सोमवार नै सरोकारवालाको रोहवरमा राष्ट्रिय पक्षी रोग प्रयोगशालामा रहेको बायोलोजिकल पीटमा नष्ट गरिएको छ ।

अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गर्नुभयो । विभिन्न नाका हुँदै दैनिक ५० टन माछा भारतबाट भित्रिएको सङ्घको दाबी छ ।

सङ्घले देशका विभिन्न नाकामा पुगेर अनुगमन गर्दा दैनिक ५० टन माछा भन्सार छलेर नेपाल भित्रिएको पाइएको जनाएको छ । चितवनमा वार्षिक ६ हजार ५ सय टन माछा उत्पादन हुन्छ । यसको करिब ६५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ । बाँकी काठमाण्डौ, पोखरालगायतका बजारमा बिक्री हुने गरेको सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले बताउनुभयो । पछिल्लो समय भारतीय माछाको अवैध आयात बढेकाले यहाँको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ छ ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com