Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

१२ कक्षा पढेकी कविताको भाग्य चम्कियो, बनिन् करोडपति

भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बनेकी छिन् ।

सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावला यो शोमा भाग लिने कोसिस गरिरहेकी थिइन् र अन्ततः २१ वर्ष, १० महिनापछि उनले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाइन् ।

कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म अहिलेसम्म घरमा नै बसिरेहकी छु, मेरो नम्बर कहिले आउँछ भन्ने कुराले सताइरहन्थ्यो । कार्यक्रममा आउने धेरैजसो मानिसको कहानी थाहा पाउँदा म पनि भावुक हुने गर्दथेँ । उनीहरु शोमा बसेर रुन्थे र म घरमा बसेर रुन्थेँ । हरेक वर्ष कोसिस गरेँ तर सधैँ निराशा मात्रै पाउँथे ।’

कविताले २०२१ मा फास्टेस्ट फिंगर फर्स्ट राउण्डमा पुग्ने मौका पाइन् तर त्योभन्दा अगाडि बढ्न सकिनन् । तैपनि उनले हिम्मत हारिनन् र मेहनत गरिरहिन् । उनका अनुसार अमिताभ बच्चनले उनलाई प्रयास गरिरहन प्रेरित गरेका थिए ।

१२ सम्म पढिन् तर सिक्न कहिल्यै छोडिनन्

आफ्नो स्कुलको पढाइको कुरा गर्दै उनले भनिन्, ‘मैले १० कक्षा पास गर्दा, हाम्रो ठाउँमा छोरीले १० कक्षासम्म पढ्नु नै ठूलो कुरा थियो । तरपनि मलाई आमा–बुवाले मेरो इच्छा अनुसार १२ सम्म पढाउनुभयो ।’

‘परिस्थिति यस्तो थियो कि हामी चार छोराछोरी हुर्काउनका हाम्री आमाले सिलाईको काम गर्थिन् । उहाँलाई देखेर मैले पनि सिलाई सिकेँ र उहाँलाई सघाउने निधो गरेँ । पढाइ छाडेर त्यही काममा लागेँ । विवाह भयो, गृहिणी भएँ तर मैले आफ्नो ज्ञान वृद्धि गरिरहेँ ।’

कविताले अहिलेसम्म आफ्नो जित बारे श्रीमान् र छोरालाई मात्र बताएकी छिन्, बाँकी परिवारलाई भने थाहा छैन । उनी आफ्नो परिवार र आफन्तले टिभीमा जितेको हेर्न चाहन्छिन् ।

केबीसीको तयारी कसरी गरिन् ?

‘कौन बनेगा करोडपति’ मा कुन प्रश्न सबैभन्दा गाह्रो थियो भन्ने प्रश्नमा कविता भन्छिन्, ‘तीन लाख २० हजारभन्दा माथिका प्रश्न निकै गाह्रा हुन्छन् ।’

‘मैले केही त पढेकी थिएँ र धेरै सोचेर जवाफ दिएँ । म सुरुदेखि नै केबीसीलाई फलो गरिरहेकी थिएँ, त्यसैले यसको स्तर कति बढेको छ भनेर मलाई थाहा थियो । म त्यही अनुसार आफूलाई अपडेट गर्ने गर्थेँ ।’

यो पैसाले के गर्नेछिन् ?

१ करोड जितेर के गर्ने र? यस प्रश्नमा कविता भन्छिन्, ‘जितेपछि म त्यसको केही अंश २२ वर्षीय छोराको थप अध्ययनमा खर्च गर्नेछु ।’

उनी भन्छिन्, ‘म पूरा भारत घुम्न चाहन्छु । म मेघालय जान चाहन्छु, चेरी ब्लसम फेस्टिभल हेर्न चाहन्छु, जुन मैले अहिलेसम्म टिभीमा मात्र हेरेकी छु ।’

यो पनि :
पतिको सपना पूरा गर्न केबीसी पुगेकी मोहिता बनिन् करोडपति

गृहिणीलाई कम नठान्नुहोस्

कविताले अहिलेसम्म श्रीमान् र सन्तानको हेरचाहमा जीवन बिताएको बताइन् ।

उनी भन्छिन्, ‘सरकारी जागिरभन्दा गृहिणीको काम ठूलो हुन्छ । गृहिणी हुनु भनेको बहुमुखी काम गर्नु हो। श्रीमान्, छोराछोरी हेरचाह गर्ने, सासु–ससुरा र घरका अन्य व्यक्तिहरूप्रति जिम्मेवारी हुन्छ । यसका साथै, बजारमा जानु आवश्यक सामानहरु किनेर ल्याउनु, सबै काम गृहिणीकै काँधमा हुन्छ ।’

‘यो कुरा एउटी गृहिणीले मात्र बुझ्न सक्छिन् । एक गृहिणीलाई कम नसोच्नुहोस् । गृहिणी भनेको के हो भनेर बुझ्नु पर्दैन ? यी सबैको बावजुद जब मैले तयारी गरिरहेँ, अमिताभ जीले पनि मेरो धेरै प्रशंसा गर्नुभयो । आमा र गृहिणी भएर उनले मलाई ज्ञानको शक्तिको उपाधि दिनुभयो ।’

पहिला डिग्री नभएकोमा अफसोस थियो, अहिले छैन

कविता भन्छिन्, ‘पहिला हाम्रो सामाजका कारण मैले पनि यही सोचेँ कि मैले १२ कक्षासम्म मात्रै पढेकी छु । मसँग कुनै डिग्री छैन, मैले अब के नै गर्न सक्छु ?

कविता भन्छिन्, ‘कौन बनेगा करोडपति शो हेरेपछि मेरो सोच फेरियो । मैले सोचेँ कि कुनै डिग्री नभए त के म आफ्नो ज्ञानले पैसा कमाउनेछु ।’

कविता भन्छिन्, ‘ मिहिनेत गरेर करोडपति भएँ भने मैले पाउने सबैभन्दा ठूलो डिग्री यही हो – करोडपति कविता । म सधैँ यही सोचसहित अघि बढेँ । त्यसपछि मलाई कुनै डिग्री चाहिँदैन भन्ने लाग्थ्यो । अब मलाई साँच्चै अरू कुनै डिग्री चाहिन्छ जस्तो लाग्दैन ।’

– बीबीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com