Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

ज्युँदै बुहारी जलाउने ससुरालाई जेल

राजविराज : घरायसी विवादमा ज्युँदै आगो लगाएर बुहारीको हत्या प्रयास गर्ने ससुरालाई तीन वर्ष कैद सजाय भएको छ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले राजविराज नगरपालिका-१५ का ५५ वर्षीय परशुराम शर्मा सुतिहारलाई तीन वर्ष कैद सजाय गरेको हो।

अदालतका अनुसार आरोपितलाई तीन वर्ष कैदका साथै ३० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।
यसैगरी अदालतले आरोपितबाट ५० हजार रुपैयाँ औषधोपचार खर्च भराउन र छ सय रुपैयाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउन अन्तिम आदेश गरेको छ।

सामाजिक परम्पराअनुसार २०७५ साल फागुन २४ गते विवाहिता २० वर्षीया रेखादेवी शर्माका श्रीमान् २७ वर्षीय रबिन्द्र शर्मा काठमाडौंमा काठको मजदुरी गर्न गएका थिए।

गर्भवती अवस्थामा काम नगरेको भन्दै यातना दिन थालेपछि रेखा माइत पुगिन्। उचित स्याहारका लागि राजविराज नगरपालिका-६ स्थित माइत पुगेकी उनी सुत्केरी भएर साढे एक महिनाको छोरी लिएर घर गएकी थिइन्।

हत्याको योजनाअनुरूप आरोपितहरूले उनले लगाउने सारीमा पेट्रोल छर्केर राखेका थिए।
पीडितले धोएर सुकाएको सारीमा आरोपितहरुले पेट्रोल छर्कि दिएको र सो सारी लगाएर आँगनमा हिंडिरहेका बेला टाढै रहेको चुलोको आगो एक्कासी सारीमा सल्किएको पीडितले बताइन्।

आगोले जलेर गुहार माग्दासमेत घरमै रहेकाहरू जोगाउनसमेत नआएको पीडितले रुँदै भनिन्।
जोगाउन कोही नआएपछि काखमा रहेको शिशुलाई मिल्काएको र आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाई ज्यान जोगाएको पीडितले बताइन्।

घाइतेलाई उपचार नगरी र बाहिरसमेत जान नदिई घरपरिवारले तीन दिन घरभित्रै बन्धक बनाएर राखेको उनले बताइन्।
पीडितकी आमा सरस्वती शर्माले घटनाको तीन दिनपछि थाहा पाएर पीडितलाई माइत ल्याएर राजविराजमा उपचार गरेर ज्यान जोगाएको बताइन्।

पीडितले आरोपितसहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेबी शर्माले २०७६ माघ १७ गते आगो लगाई ज्यान मार्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दिएकी थिइन्।
प्रहरी कार्यालयले पीडितबाट तेस्रो पटक उजुरी परिवर्तन गर्न लगाई परशुरामविरुद्ध मात्र उजुरी दर्ता गरेको थियो।

आरोपित परशुरामलाई २०७६ माघ २१ गते पक्राउ गरी प्रहरी कार्यालयले आगो लगाई ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको थियो।
जिल्ला अदालतमा २०७६ फागुन १६ गते उजुरी दायर भएकामा अदालतको आदेशमा आरोपित २०७६ फागुन १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। अन्नपूर्ण बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com