Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बन्द प्रशिक्षणका बेला एक वर्षमा क्यान व्यवस्थापकहरूले गरेका चार गल्ती

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमाथि प्रश्न उठिरहेका छन्।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका दौरान घटना भएपछि बन्द प्रशिक्षणका क्रममा भएका कमजोरीको विषयमा छानबिन गर्न माग पनि उठिरहेका छन्।

क्यानले व्यवस्थापनको विषयमा छानबिन गर्न सकिने बताए पनि अहिलेसम्म कुनै औपचारिक छानबिन समिति गठन गरेको छैन।

केन्यासँगको पाँच टी_२० सिरिज र तीन एक दिवसीय अभ्यास सिरिजका लागि क्यानले खेलाडीहरूलाई होटल हायात प्यालेसमा राखेको थियो। तत्कालीन कप्तान लामिछाने भने घर जाने भन्दै अर्कै होटलमा बसेको सिसिटिभी फुटेजबाट पनि पुष्टि भइसकेको छ।

यसरी बन्द प्रशिक्षणको नियम कप्तान स्वयंले नै तोडेको र उनीमाथि नाबालिगलाई बलात्कार गरेकोजस्तो गम्भीर आरोप लागेको विषयमा क्यानले अहिलेसम्म छानबिन थालिहाल्न जरूरी ठानेको छैन। अर्कातर्फ बन्द प्रशिक्षणका दौरान खेलाडीको सबै जिम्मेवारी क्यान व्यवस्थापनको हुन्छ। पारिवारिक कारणले खेलाडी बाहिर जान पनि अनुमति माग्नुपर्छ।
नेपाली राष्ट्रिय टिमले कुनै प्रतियोगितामा भाग लिनुअघि क्यानले टिमको व्यवस्थापन गर्न व्यवस्थापक नियुक्त गर्ने गर्छ।

बन्द प्रशिक्षणका दौरान खेलाडीको खानपिन, अभ्यास, खेल पोशाक, खेल सामग्री लगायतका जिम्मेवारी व्यवस्थापकको हुन्छ। साथै कुनै समस्या परे पनि तत्काल समाधान खोज्नु व्यवस्थापकको जिम्मेवारी हो।
भदौ पहिलो साता केन्या जानुअघि नेपाली टिमको व्यवस्थापन गर्न क्यानले सुनिल महासेठलाई नियुक्त गरेको थियो।

महासेठले नेपाली टिम केन्याबाट फर्किएपछि सन्दीप लामिछानेमाथिको अभियोग र बन्द प्रशिक्षणकै दौरान उनी टिमलाई छोडेर अर्कै होटलमा बसेको विषयमा आफूलाई थाहै नभएको बताए।
नेपाली क्रिकेटका व्यवस्थापनमाथि प्रश्न उठेको यो पहिलो पटक होइन।

साउन पहिलो साता नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी विश्वकप लिग_२ खेलेर स्कटल्यान्ड भ्रमणबाट नेपाल फर्किँदा साथमा व्यवस्थापक वीरेन्द्र चन्द थिएनन्। उनी नेपाली टिमलाई छाडेर लन्डनतर्फ गएका थिए।

स्वदेशसम्म नेपाली टिमको व्यवस्थापन गर्नु र लगत्तै भ्रमणको प्रतिवेदन पेश गर्नु जिम्मेवारी भए पनि चन्द स्कटल्यान्डबाट लन्डन गएपछि केही केन्द्रीय सदस्यले विरोधसमेत गरेका थिए।

पछि उनी क्यानका अध्यक्ष चतुरबादुर चन्द सहभागी भएको आइसिसीको कार्यक्रममा सँगै देखिएका थिए।
गत जेठमा नेपाली टिम आइसिसी विश्वकप लिग_२ को सिरिज खेल्न अमेरिका गएका थियो। त्यतिबेला टिमको लिडर पदमबहादुर खड्का थिए। नेपाली टिमले टेक्सासमा अभ्यास खेल खेलिरहँदा खड्काले भने न्युयोर्कमा घुमिरहेको फोटो सार्वजनिक गरे।

व्यवस्थापनको प्रमुख जिम्मेवारीमा रहेका खड्का टिमसँगै बस्न छाडेर घुमिरहँदा क्यान नेतृत्वले आँखा चिम्लिएको थियो।
अमेरिका पठाउनकै लागि क्यानले पछिल्ला वर्षमा पहिलो पटक ‘टिम लिडर’ पद सिर्जना गरेको थियो। त्यतिबेला टिम लिडर खड्का र व्यवस्थापकमा दुर्गा पाठक थिए।

गत कात्तिकमा त व्यवस्थापको गल्तीका कारण नेपाली महिला राष्ट्रिय टिमले ठूलै हैरानी खेप्न परेको थियो। विश्वकप छनोटको तयारीका लागि बंगलादेश गएको नेपाली टिमले त्यहाँको स्थानीय टिमसँग अभ्यास खेल खेलेको थियो।

व्यवस्थापकको कमजोरीले गर्दा नेपाली टिम हवाई मार्ग हुँदै स्वदेश फर्कन पाएन। लगेज लिएर ढाकाको विमानस्थल पुगेका नेपाली महिला टिमलाई विमानस्थलका कर्मचारीले भित्र छिर्न दिएनन्। किनभने नेपाली टिमसँग कोरोनाभाइरसको पिसिआर रिपोर्ट थिएन।

नेपाल फर्कनका लागि पिसिआर रिपोर्ट अनिवार्य हुने व्यवस्थापकको रूपमा बंगलादेश गएकी क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्टलाई कुनै हेक्का नै भएन।

फ्लाइट छुटेपछि खेलाडीलाई क्यानले बसबाट नेपाल फर्काएको थियो। लगत्तै कतार जाने कार्यक्रम रहेको नेपाली टिमका खेलाडी लामो यात्रा गर्दै मध्यरातमा झापा आइपुगेका थिए।

यो घटनाको विषयमा भने क्यानले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले व्यवस्थापकहरूले ‘माफी मागेको’ भन्दै प्रतिवेदन दिएपछि उनीहरूले उन्मुक्ति पाएका थिए।

व्यवस्थापकलाई स्पष्टीकरण सोध्दा ‘कार्यालयबाट समन्वय नभएको, आगामी दिनमा गल्ती नदोहोर्‍याउने,’ बताएका थिए।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्री बारम्बार व्यवस्थापकीय कमजोरी देखिनुमा क्यान नेतृत्वको दोष देख्छन्।

‘व्यवस्थापकको कमजोरी बराम्बार दोहोरिनु भनेको नेतृत्व कमजोर भएकाले हो। नेतृत्वमा जवाफदेहीताको कमी आएकाले यस्ता घटना भइरहेका हुन्,’ उनले भने, ‘यस्ता घटना भइरहँदा क्यानले कुनै छानबिन समिति बनाएको छैन। आफ्नो कार्यक्षेत्रमा देखिएका कमजोरी र सत्यतथ्य पत्ता लगाउनु संस्थाको पनि दायित्व हुन्छ। घटना किन भयोरु कसरी भयोरु यसका पछाडिका कारण के हुन्रु भन्ने कुरा क्यानले छानबिन गर्न जरूरी छ।’

क्यानमा नियुक्त भएका व्यवस्थापकलाई आफ्नो कामबारे स्पष्ट जानकारी नभएको पनि क्षेत्रीको भनाइ छ।
‘आफ्नो काम(कर्तव्यको विषयमा व्यवस्थापकलाई कुनै जानकारी हुँदैन। क्यानले उनीहरूलाई कामको बारेमा राम्रोसँग बुझाउन पनि सकेको छैन। उनीहरूसँग सम्झौता पनि गरिएको हुँदैन,’ उनले भने,’ अर्कोतर्फ व्यवस्थापक भइसकेपछि प्रतिवेदन दिने चलन नै छैन। राम्रा र सुधार गर्नु पर्ने विषय समेटेर रिपोर्ट बुझाउनु व्यवस्थापकको काम हो।’

भोटको राजनीतिका कारण क्यानले गल्ती गर्ने व्यवस्थापकलाई कारबाही गर्न नसकेको क्षेत्रीले आरोप लगाए।
‘यहाँ भोटको कुरा छ। कारबाही गरे भोट घट्छ,’ उनले भने, ‘आफ्ना मान्छेलाई व्यवस्थापक बनाएर विदेश पठाउने प्रचलन पनि समस्या ल्याइरहेको छ।’सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com