Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुर – इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।

स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका ठाउँमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

पुलुकिसी जात्रा गर्नुपूर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा(पाटीको नाम)तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ । दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः(मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ ।

यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानीयवासीले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखेर तयार गरिएको पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडि तीन पटक घुमेर जात्रा सुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयवासीले छ्वाली बालेर अगाडि जाने चलन छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहोर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् ।

जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ । मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ ।

देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com