Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सिट बेल्ट नबाँध्दा सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय अर्बपति मिस्त्री

गत आइतबार दिउँसो भारतीय राज्य गुजरातको अहमदावादबाट एउटा मर्सिडिज बेन्ज कार आर्थिक राजधानी मुम्बईतर्फ आउँदै थियो।
मुम्बई(अहमदावाद हाइवेमा गुडिरहेको उक्त मर्सिडिज कार स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे दुर्घटनामा पर्‍यो। मुम्बईदेखि एक सय किलोमिटर टाढाको पालघार जिल्लामा सूर्या नदीको पुलमाथि कार दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा परी दुई जनाको मृत्यु भयो। मृतकमध्ये एक जना भारतीय अर्बपति एंव व्यापारिक घराना टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्री थिए।

मिस्त्री भारतका अर्बपति उद्योगी, व्यवसायी थिए। उनीसँग २९ अर्ब डलर सम्पत्ति थियो।
५४ वर्षीय मिस्त्रीको सडक दुर्घटनामा मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साइरसको निधन भारतीय व्यापार तथा उद्योग क्षेत्रका लागि ठूलो नोक्सान भएको भन्दै दुस्ख व्यक्त गरे।

साइरसको मृत्युको चर्चा भने अहिलेसम्म सेलाएको छैन। सुरक्षाका हिसाबले निकै मजबुत मानिने उक्त मर्सिडिज एसयुभी दुर्घटनामा अगाडिको सिटमा बस्ने दुई जना घाइते मात्र भएका छन्। पछाडि बसेका मिस्त्री र उनका साथीकोचाहिँ कसरी घटनास्थलमै मृत्यु भएको भन्ने प्रश्न उठेको छ।

फर्स्टपोष्टका अनुसार उक्त कार स्त्री रोग विशेषज्ञ अनाहिता पाण्डोलले चलाएकी थिइन्। ५५ वर्षीया अनाहिताका श्रीमान् ६० वर्षका दारिउस चालक छेउको सिटमा बसेका थिए।

पछाडि मिस्त्री र उनका साथी जहाङ्गिर पाण्डोल बसेका थिए।

प्रहरीको प्रारम्भिक अध्ययनमा पछाडि बसेका मिस्त्री र जहाङ्गिरले सिट बेल्ट नबाँधेको देखिएको छ। भारतमा चालकसहित पछाडि बस्ने यात्रुले समेत सिट बेल्ट बाँध्नु पर्ने नियम छ तर यात्रु आफैंले जानेर सिट बेल्ट बाँध्दैनन्, ट्राफिक प्रहरीले पनि चालकलाई जति कडाइ गरेर सिट बेल्ट बाँध्न लगाउँछन् त्यति कडाइ यात्रुलाई गर्दैनन्।

उक्त दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले दुर्घटनाका बेला कार प्रतिघन्टा १३० देखि १४० किमिको गतिमा रहेको बताएको छ।

तीन लेनको हाइवेमा तीव्र गतिमा रहेको कार सूर्या नदीमाथिको दुई लेनको पुलमा आइपुग्दा चालकले नियन्त्रण गर्न नसकेर पुलको रेलिङमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।

तीव्र गतिमा रहेको कारमा रहेको रेडियटर तीन फिटभित्र गएको थियो। बेस्सरी ठोक्किँदा पनि चालक र छेउमा बसेका यात्रुलाई एयर ब्याग र सिट बेल्टले केही हदसम्म जोगाएको देखिन्छ। पछाडि बसेका मिस्त्री र उनका साथी भने निकै हुत्तिएकाले उनीहरूलाई गहिरो चोट लागेको अनुमान गरिएको छ।

२०१७ मा बनेको जिएलसी २२०डी४ म्याटिक मोडलको उक्त एसयुभीमा पछाडिको सिटमा झ्यालतिर एयरब्याग भए पनि अगाडितिर नभएको द हिन्दुले उल्लेख गरेको छ। त्यसले पनि मिस्त्री र उनका साथीलाई धेरै चोट लागेको हुन सक्छ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अहिले दुर्घटना हुँदा सिट बेल्ट नलगाएका मिस्त्री र उनका साथीलाई कसरी चोट लाग्यो होला भन्ने एउटा एनिमेटेड भिडिओ पोष्ट गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनले पछाडि सिटमा बस्ने यात्रुले बेल्ट बाँधेको अवस्थामा दुर्घटना हुँदा मृत्युको सम्भावना २५ प्रतिशत कम हुने देखाएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com