Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चार महिनादेखि टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर रित्तिँदै

चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेसनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो।

यसरी लामो समयसम्म फोहोरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेसनमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य सडक किनारामा पनि जताततै फोहोर नै फोहोर थियो।

उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहोर व्यवस्थापनको काम सकिएको छ भने आइतरबादेखि ट्रान्सफर स्टेसनमा चार महिनादेखि थुपारिएको फोहोर पनि पूर्ण रूपमा व्यवस्थापनको काम सकिने कामपाको प्रमुख बालेन शाहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।

गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहोरको व्यवस्थापन हुन सकेको थिएन।
स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहोरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहोरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ।

उक्त स्थानमा राखिएको फोहोर व्यवस्थापनको काम सकेसँगै अब नागरिकको घरबाट निस्किएको फोहोर सिधै बञ्चरेडाँडा लगिने लम्सालले जानकारी दिए।

यसअघिको फोहोरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा पुग्ने गरेको छ।

हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।
पछिल्लो समय थप पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि कामपाले उपत्यकामा नै कुहिने फोहोर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com