Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङ – लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताउनुभयो । उहाँले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै आइएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न उहाँले गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताउनुभयो ।

आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।

आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । तीन अर्ब ८६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।

सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता ९पिपिए० भएको आयोजनाले जनाएको छ । यसअघि जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ लगायत छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com