Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बस्तीपुरवासीको गुनासो : नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पाइएन

सिरहा – सिरहाको लहान नगरपालिका १४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उहाँको इच्छा त्यत्तिकै रह्यो ।

उपचारका क्रममा निधन हुनुभएका कांग्रेस नेता गिरिको निधनपछि काठमाण्डौको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उहाँको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीयवासी अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरिको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उहाँले इच्छा व्यक्त गर्नुभएको थियो । आफ्ना प्रिय नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासीको गुनासो छ ।

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाउँमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरि बसेको भए पनि काठमाण्डौबाट उहाँको पार्थिव शरीर नआएपछि बस्तीपुरवासी निराश भएका थिए ।

शुभेच्छुक तथा नेता, कार्यकर्ताको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर स्थानीयवासी त्यो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आउनुभएका दीप परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गिरिले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रममै गर्नुहोला भन्नुभएको थियो । त्यहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।’

बस्तीपुर र समाज निर्माणमा प्रदीप दाइको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरूप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताउनुभयो । शान्त र सालिन स्वभावका व्यक्तित्व नेता गिरि पुर्ख्यौली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आउनुभएको थियो । प्रदीप दाइले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गर्नुभएको स्थानीयवासी रामकृष्ण चौधरीले बताउनुभयो । उहाँका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् । अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरूलाई झनै दुःख लागेको चौधरीको भनाइ छ ।

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहयोग एवम् सद्भाव बाँडेका नेता गिरिको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिनुभएका गिरिले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ २०७४ को चुनावमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेता गिरिको शोकमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आफूहरूले मत दिएर जिताएका अभिभावक गिरिको उपचार काठामाण्डौमा रहेको नेपाल मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासीले गाउँमा भजन कीर्तन गरेका थिए । नेता गिरिले कुनै पार्टीका वा व्यक्तिको नेता मात्र नभइ समग्र समाज र सबै पार्टीको नेता हो भनी पहिचान छोड्नुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com