Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

ज्यान मुद्दामा जेल बसेका र इञ्जिनियर नै लागुऔषधको कारोबारी!

उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले भदौ २ र ३ गते तीन पुरूषलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका तीनमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा आठ वर्ष सजाय भुक्तान गरी छुटेका र अर्का सिभिल इञ्जिनियर रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

भदौ २ गते बुप्रेनोर्फिन दुई सय ४३ एम्पुल, फेनारगन दुई सय ४३ एम्पुल र डाइजोपाम दुई सय ४३ एम्पुलसहित पक्राउ परेका ललितपुर–१८ बस्ने ३८ वर्षीय नवीन श्रेष्ठ रहेका छन्।

कर्तव्य ज्यान मुद्दामा उनी यसअघि कारागार बसेर छुटेका थिए। उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनी आठ वर्षीय बालक धीरज अधिकारीलाई वि.सं २०६४ असोज १७ गते अपहरण गरी मारेपछि बागमती खोलामा फालेको अभियोग पुष्टि भई आठ वर्ष चार महिना कैद भुक्तान गरी छुटेको व्यक्ति हुन्।

भदौ ३ गते काठमाडौंको कालोपुलबाट पक्राउ परेका ४३ वर्षीय सिभिल इञ्जिनियर ध्रुब लिम्बूबाट पनि प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो।

कालोपुलमा कम्प्युटर तथा मोबाइल मर्मत गर्ने गरेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१० घर भएका लिम्बूबाट ब्यूरोको टोलीले लागुऔषध बुप्रेनोर्फिन पाँच सय ६० एम्पुल, फेनारगन पाँच सय ८४ एम्पुल र डाइजोपाम सात सय ३७ एम्पुलसहित नियन्त्रणमा लिएको थियो।

लिम्बू पक्राउ परेपछि उनकै बयानका आधारमा बाफलको होस्टलबाट अर्का थप एक लागुऔषध कारोबारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिका–४ घर भई कालोपुल बस्ने ४० वर्षीय जमुना साह तेली रहेको लागुऔषध नियन्त्रण ब्यूरोका सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

खड्काले तेली बस्ने होस्टलको कोठामा छापा मार्दा बुप्रेनोर्फिन ९८ एम्पुल, डाइजोपाम एक सय दुई, एम्पुल बरामद भएको बताए।
तेलीले भारतको रक्सौलबाट आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको पेट्रोल हाल्ने ट्यांकी काटेर त्यसको तलपट्टी फल्स बटन राखी लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

फल्स बटन राखेर लागुऔषध ओसारपसार गर्दा पेट्रोल कम हुने भएकाले तेलीले खानेपानीको बोलमा पेट्रोल भरेर झोलामा राखेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

लागुऔषध काठमाडौं पुर्‍याएबापत तेलीले प्रतिपटक रु ५० हजारको दरले लिने गरेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार तेलीले नियन्त्रित लागुऔषधका एम्पुल ध्रुव लिम्बूलाई बिक्री गर्न दिने र लिम्बूले नवीन श्रेष्ठलाई बिक्री वितरण गरेको अनुसन्धानबाट पाइएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com