Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेता प्रदीप गिरिको आश्रममा सन्नाटा

सिरहा – नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ ।
सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे ।

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा २०५२ सालदेखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ ।

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरु शोकमा डुबेका छन् ।
आश्रमको अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भन्नुभयो, पहिला मान्छेको भिडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा प्रायः मान्छे आउनै छाडेका थिए । अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछन् र मान्छे यहाँ ।

सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्ख्यौली घर छाडेर नेता गिरिले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आउनुभएको थियो । करिब छ बिघा क्षेत्रफलमा फैलिएको यस आश्रममा नेता गिरिले थप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाउनुभएको छ ।

भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार नेता गिरिले २०४८/४९ सालमा बिरुवा रोपेर आश्रम स्थापना गर्नुभएको थियो । त्यसको १० वर्षपछि पुनःस्थापना गर्नुभएको आश्रममा स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उहाँले पशुपालन सुरु गर्नुभएको थियो ।

जन्मथलो बस्तीपुर आउँदा नेता गिरि धेरैजसो समय आश्रममै बिताउनुहुन्थ्योु, उहाँका समकालीन ७१ वर्षीय कुमुदरन्जन बरालले भन्नुभयो, प्रदीप दाइ जहिले पनि नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवम् धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्नुहुन्थ्यो ।
आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब नागरिकका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् ।

इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्दै आउनुभएका नेता गिरि त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आउनुभएको थियो । आश्रमभित्रै बैठक कक्षसमेत रहेको छ । अब आश्रमको भविष्य के हुन्छ भन्ने अन्योलसमेत बढेको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com