Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

काठमाडौंमा कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुहिने फोहर यही व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।
महानगरका प्रमुख शाहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ। उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ। उनीहरूलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए।

स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरू हुन नसकेको महानगरले जनाएको छ।

तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको महानगरको दाबी छ। दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ।

पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौंमा फोहरको डङ्गुर थुप्रने गरेको छ। यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ।

साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने महानगरको योजना छ। हाल महानगरसहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com