Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुनः पेस भए के हुन्छ?

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेस गरेको खण्डमा रोक्न नमिल्ने कानुनविदहरूको राय छ।
पहिलो पटक पुनर्विचार गर्न राष्ट्रपतिले नागरिकता विधेयकलाई संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा फिर्ता पठाए पनि अब पुनर्विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनर्विचार गर्न नपाइने व्यवस्था छ। विधेयकलाई संसदले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठायो भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन।

दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ। संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

संविधानविद विपिन अधिकारीले संसदले पुनः पारित गरेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पेस गरेमा प्रमाणीकरण गर्नुपर्ने बताउँछन्।
‘राष्ट्रपतिले संविधानअनुसार नागरिकता विधेयक पुनः विचार गर्न संसदमा फिर्ता गर्न मिल्दैन, उनले भने, अब राष्ट्रपतिले विधेयकलाई थुनछेक नगरी प्रमाणीकरण गर्नुहुन्छ।

उनले सरकारको चाहनाअनुसार नै नागरिकता विधेयक आउने बताए। राष्ट्राध्यक्षले पुनर्विचार गर्न संसदमा विधेयक फिर्ता गरेपछि प्रक्रिया मात्र पुर्‍याएर पारित गर्न नहुने उनको भनाइ छ।

‘राष्ट्रपतिले नागरिकता विधेयकमा जुन कुरा उठाउनुभएको छ, त्यो कुराको संसद्को दुवै सदनमा पर्याप्त छलफल हुनुपर्छ,ु उनले भने, ‘राष्ट्राध्यक्षले उठाएको कुरालाई सम्बोधन गरेर मात्र विधेयक प्रमाणीकरणका लागि पठाउनुपर्छ।’

उनले नागरिकता विधेयकमा विवाद रहेकाले राष्ट्रपति भण्डारीले संसदमा पुनः विचार गर्न पठाएको जानकारी दिए।
संविधानविद अधिकारीले राज्य व्यवस्था समितिमा दफाबार छलफल गरेर मात्र नागरिकता विधेयकमा देखिएको विवाद सुल्झाउनुपर्नेमा जोड दिए।

‘राष्ट्रपतिले नागरिकता विधेयकका सम्बन्धमा पुनः विचार गर्न भनेको कुरालाई राज्यव्यवस्था समितिबाट नै टुङ्ग्याएर संसदमा लैजानुपर्छ, उनले भने।

राष्ट्रपति भण्डारीसमक्ष गत साउन १५ गते प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक साउन २९ गते फिर्ता भएको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्।

यसरी फिर्ता पठाएको विधेयक आज संसदले पारित गरेर पठाउने कार्यसूची छ। अहिले प्रतिनिधिसभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकबारे छलफल भइरहेको छ।
प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुपर्ने हुन्छ।

अर्का संविधानविद भिमार्जुन आचार्यले पनि संसदको दुवै सदनले पुनः पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले स्वीकार गरेर प्रमाणीकरण गर्नुपर्ने बताउँछन्।

‘राष्ट्रपतिले फिर्ता गरेको विधेयकलाई पर्याप्त मात्रामा छलफल गरेर मात्र पुनः प्रमाणीकरणका लागि पठाउनुपर्छ, उनले भने, राष्ट्रपतिले उठाएको कुराको संसदीय व्यवस्थाअनुसार सम्बोधन हुनुपर्छ।
राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएको विधेयकलाई अवसरका रूपमा संसदले लिनुपर्ने उनको भनाइ छ।

अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अब नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति भण्डारीले पुनः विचार गर्ने ठाउँ नरहेको बताए।
‘अब संसदको दुवै सदनले पारित गरेपछि राष्ट्रपतिलाई फेरि पनि पुनर्विचार गर्नका लागि ठाउँ छैन, उनले भने, संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई उनले प्रमाणीकरण गर्नुपर्ने हुन्छ।

राष्ट्रपति भण्डारीले नागरिकताका सम्बन्धमा स्थायी समाधान खोज्न विधेयक फिर्ता गरेको उल्लेख गर्दै भने, ‘उहाँले नागरिकताका विषयमा यो–यो विषयमा संशोधन गर भनेर सन्देशसहित अभिभावकको भूमिका निर्वाह गर्दै संसदमा विधयेक फिर्ता पठाउनुभएको थियो। संसदले राष्ट्रपतिको सन्देशलाई मनन गरेर नागरिकता विधेयकलाई पर्याप्त मात्रामा छलफल गरी संशोधनसहित प्रमाणीकरणका लागि पठाउनुपर्छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com