Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सप्तकोसीमा तटबन्ध बनाउन थाल्यो वेलका नगरपालिकाले

उदयपुरको वेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरू गरेको छ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोट सहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरू गरेको हो।
सो निर्माणका लागि प्राविधिकहरूको सल्लाहअनुसार ढुंगा संकलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ।

विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुंगाको पर्खाल र तारजाली लगाउन सुरू गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन्।

तत्काल फेरि पनि विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं १ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ।
यसका लागि संघीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोग माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले बताए।

स्थायी तटबन्धन पहल गरे पनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ।
केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायी रूपमा विस्थापित भएका छन्।

अहिले पनि नदी कटानबाट विस्थापितमध्ये झन्डै पाँच सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ।
नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलंका टापु र एबिसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन्। त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले बताएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com