Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

पूर्वसैनिक र पूर्वलडाकु पक्राउ

गत असार ६ गते काठमाडौंको शंखरापुर नगरपालिका ९, खुलालटास्थित लालबहादुर थापाको घरमा लुटपाट भयो। राति करिब १ बजेतिर हतियारसहित घरमा प्रवेश गरेको लुटेराको समूहले नगद, सुनचाँदीका गहना र मोबाइल लुटेर लगेको थियो; जसको कुल लागत २ लाख ४१ हजार रहेको थापाले प्रहरीलाई बताएका थिए।

त्यसको एक साता नबित्दै असार १२ गते शंखरापुर नगरपालिका ९ कै अर्को घरमा सोही प्रकृतिबाट लुटपाट भयो। सुशीला थापाको घरमा पसेको लुटेराको समूहले धारिलो हतियार देखाएर नगद, सुन र मोबाइलसमेत लुटेको थियो। घरधनी थापाले गहना, मोबाइल र नगद गरी लुटेराले ६ लाख ५ हजार ७ सय ५० रूपैयाँ लगेको दाबी गरेकी थिइन्।

यस्तै प्रकृतिको घटना काभ्रेपलाञ्चोकमा भयो। असार २० गते राति सवा १ बजेतिर बनेपा नगरपालिका ११ स्थित सलामसिंह लामाको घरमा पसेर लुटेराले १२ लाख ४९ हजारबराबरको धनमाल लुटेर लगे। त्यसको केही दिनपछि काठमाडौंको कीर्तिपुर नगरपालिका ६ स्थित नारायण बस्नेतको घरमा लुटपाट भयो। राति साढे १२ बजेतिर धारिलो हतियारसहित घरभित्र प्रवेश गरेको समूहले धम्क्याएर ५६ लाख ६५ हजार १ सय २४ बराबरको धनमाल लुट्यो।

यसरी शृंखलाबद्ध रूपमा लुटपाटका घटना हुन थालेपछि नेपाल प्रहरी सतर्कताका साथ अनुसन्धानमा लाग्यो। सबै घटना प्रहरीको जानकारीमा थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान हुन थाल्यो। प्रहरीले लुटपाट र डकैतीमा संलग्न हुन सक्ने पात्रका बारेमा अनुसन्धान गर्दै गयो; जसमा केही सोही प्रकृतिका ‘क्रिमिनल हिस्ट्री’ भएका व्यक्तिमाथि पनि प्रहरीको नजर थियो।

सोही अनुसन्धानका आधारमा प्रहरीले सोमबार तीनजनालाई पक्राउ गरेको छ। उनीहरूको ‘क्रिमिनल हिस्ट्री’ को अनुसन्धान र घटनासँग संलग्नता भएको आशंकामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताए। पक्राउ पर्नेमा मेलम्ची नगरपालिका ७ सिन्धुपाल्चोकका ३८ वर्षका सागर भनिने रामसिंह तामाङ, मकवानपुरको साबिक फापरबारी ९ का ३८ वर्षका सम्धी भनिने दिलबहादुर सिङ्ताङ र बकैला ५ मकवानपुर घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३५ वर्षका सुशील भनिने बाबुलाल थिङ रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये रामसिंह पूर्वसैनिक हुन् भने दिलबहादुर माओवादीका पूर्वलडाकू रहेको देखिएको प्रहरीले जनाएको छ। उनीहरूले यसअघि आपराधिक घटनामा सजाय पाएको पनि देखिएको छ।

रामसिंह मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ११ वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ। उनी २०६३ देखि जेलमा बसेर २०७४ मा मात्रै छुटेका थिए। दिलबहादुर पनि ‘खुन डाँका’ मुद्दामा १० वर्ष जेल बसेको प्रहरी रिपोर्टमा उल्लेख छ।

उनी २०६८ सालमा ललितपुरमा ‘खुन डाँका’ केस घटाएर २०७८ पुससम्म जेल बसेका थिए। उनले ललितपुरको झरुवारासीमा श्रवण खड्काको हत्या गरेका थिए।

जेलमा जुरेको ‘आइडिया’

प्रहरीका अनुसार उनीहरूले अहिलेको डकैती स्वीकार गरिसकेका छन्। ‘उनीहरूले आफैं सबै घटनामा सहभागी भएको स्वीकार गरिसकेका छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कोइरालाले भने, ‘घटनामा अरू पनि संलग्न रहेको देखिएको छ। उनीहरूको खोजी र थप अनुसन्धान भइरहेको छ।’

प्रहरीको अनुसन्धानले लुटेरा समूहमा १० जना रहेको देखाएको छ। अपराधमा संलग्नमध्येका पात्रहरूबीच नख्खु जेलमा रहँदा भेट भएको र त्यहीं चिनजान भएर लुटपाट योजना बनाएको अनुसन्धानले देखाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद मागेर पक्राउ तीनजनामाथि विस्तृत अनुसन्धान अघि बढाइएको एसपी कोइरालाले जानकारी दिए। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com