Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

छात्रामा ‘मास हिस्टेरिया’को लक्षण देखिएपछि कोहलपुरको एक विद्यालय बन्द

कोहलपुर–१३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा ‘मास हिस्टेरिया’को लक्षण देखिएपछि तीन दिन विद्यालय बन्द गरिएको छ । कक्षा ५ मा अध्ययनरत छात्रामा लगातार मास हिस्टेरियाको लक्षण देखिन थालेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार विद्यालय नै बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक पृथ्वीनाथ धितालका अनुसार यस्तो समस्या पहिलोपटक साउन २३ गते देखिएको थियो । पहिलो दिन पाँचजनामा र २४ गते दोस्रो दिन ६ जना र आइतबार पनि नौजना मात्रामा मास हिस्टेरियाको लक्षण देखा परेको उनले बताए ।

‘कक्षा पाँचमा पढ्ने छात्राहरुमा डेढ हप्तादेखि बेलाबेलामा देखियो । यसले पठनपाठनमा समस्या भयो,’ उनले भने, ‘लगातार यस्तो समस्या देखिएपछि स्वास्थ्यकर्मीलाई बोलाएका थियौं । उहाँहरुले प्रशिक्षण दिनुभयो । पछि अन्यमा समेत समस्या देखिने सम्भावना रहेको निष्कर्ष स्वास्थ्यकर्मीले निकाल्नुभयो ।’

प्रधानाध्यापक धितालका अनुसार स्वास्थ्यकर्मीको सल्लाहका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार ३१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको छ । कोहलपुर नगरपालिकास्तरीय स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिल सेन ठकुरीले उक्त विद्यालयमा मास हिस्टेरियाको लक्षण देखिएको पुष्टि गरे ।

उनका अनुसार पहिलोपटक एकजना छात्रामा काप्ने, रुने, लामो श्वास फेर्ने र बेहोस हुने समस्या देखिएको थियो । त्यस्तो समस्या लगातार अन्य छात्राहरुमा समेत देखिन थालेको र त्यो मास हिस्टेरियाको लक्षण भएको उनले बताए ।

उनले भने, ‘पहिलोपटक यस्तो समस्या देखिने छात्रा कक्षामा राम्रो पढाइ भएकी रहेछन् । उनलाई देखिएपछि अरु पनि आत्तिए । बिस्तारै सबैमा देखिन थालेको रहेछ ।’ उनले विद्यालयमा एकजना अटिजमको समस्या भएका विद्यार्थीसमेत रहेको उनले बताए ।

जनस्वास्थ्य निरीक्षक ठकुरीले ती विद्यार्थीहरुले छात्राहरुलाई देख्नबित्तिकै लखेट्ने गरेको समेत पाइएको बताए । विद्यार्थीहरुको अवस्था देखेर आफूहरुले विद्यालय केही दिन बन्द गर्न सल्लाह दिएको पनि उनको भनाइ छ । स्वास्थ्यकर्मीहरुको सल्लाहअनुसार विद्यालयले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा छात्राहरुको अवस्था बुझ्न मेडिकल अधिकृत डा.आशिष शाह, नर्सिड स्टाफ नमुना पाण्डे र हेल्थ अटिस्टेन शिव गौतमलगायतको टोली पुगेको थियो । ठकुरीले उनीहरुलाई छुट्टाछुट्टै बसालेर साइकोलोजिकल काउन्सिलिङ गरिएको र औषधिहरु समेत वितरण गरिएको बताए ।

उक्त टोलीहरुमा छात्राहरुमा मास हिस्टेरियाको लक्षण देखा परेको निष्कर्ष निकालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खड्काले पनि छात्राहरुमा देखिएको समस्या समाधानका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

मानसिक तनाब शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन । हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो । मास हिस्टेरियालाई अहिले ‘मास कन्भर्जन’ भनिन्छ । जसलाई नेपालीमा ‘विकृत विकार’ पनि भनिन्छ । मिसन टुडे न्यूज

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com