Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

अटोबाट लडेर मृत्यु भएपछि गुपचुपु मै दाहसंस्कार, छोरा-बुहारीसहित १२ विरूद्ध मुद्दा

दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा मध्यान्ह १२ बजेतिर स्थानीय ७७ वर्षीया हरिकला भण्डारी रा १ ह ५१७० अटोबाट ओर्लिंदै गर्दा लडिन्। घटना गत असार १४ गतेको हो।

अटो चालक थिए स्थानीय २८ वर्षीय मुक्तान चौधरी। त्यो अटो चौधरीको आफ्नै हो। तत्कालै उनले घाइते भण्डारीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए।
प्रहरीले घटनाबारे सानो टिपोट मात्रै राख्यो। भण्डारीको उपचार घोराहीमा सम्भव भएन।

केहीबेरमै बाँकेको नेपालगञ्ज रिफर गरियो। गम्भीर घाइते भण्डारीलाई नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरियो।
उनको अवस्थामा कुनै सुधार नभएपछि र सुधारको सम्भावना पनि नदेखिएपछि चिकित्सककै सल्लाहमा भण्डारीलाई असार १५ गते घरतर्फ ल्याउँदै गर्दा घोराही पुग्नासाथ बाटोमै मृत्यु भयो।

भण्डारीको मृत्युको सूचना घर परिवार र आफन्त कसैले पनि प्रहरीलाई दिएनन्। असार १६ गते स्थानीय घाटमा लगेर भण्डारीको अन्तिम संस्कार भयो।

गुपचुपुमा भण्डारीको अन्त्येष्टि गरिएको सूचना स्थानीयले साउन १ गते जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई दिए। त्यसपछि प्रहरीले घटना अनुसन्धान सुरू गर्‍यो।

प्रहरीले चालकको सोधिखोजी गर्‍यो। खोजी गर्ने क्रममा स्थानीय ५१ वर्षीय पुन मगरले आफू उक्त अटोको चालक भएको बताए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्‍यो। पछि थाहा भयो कि उनले झूटो बोलेका रहेछन्। चौधरीसँग लाइसेन्स नभएकोले आफूले पैसाको लोभमा घटना स्वीकार गरेको उनले बयान दिए।

सवारी दुर्घटनामा घाइते भई यात्रुको मृत्यु भइसकेकोले सवारी ज्यान मुद्दा आकर्षित हुने अवस्था थियो।
प्रहरीले घटना लुकाउन खोजेको मिसिल प्रतिवेदन तयार पार्दै मुद्दाको उठान गर्‍यो। सरकारी वकिलको कार्यालयमार्फत् दुर्घटनाका घाइतेको गुपचुपमा भएको अन्तिम संस्कारमा संलग्न मुख्य पात्रहरूको पहिचान गर्‍यो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दामु पुनका अनुसार मृतक भण्डारीका छोरा, बुहारी र पुरोहितसहित १२ जनालाई प्रतिवादी बनाइएको छ।

जसमा मृतक भण्डारीका छोरा यमराज भण्डारी, बुहारी कमला, छोरा बुद्धिराम, पुरोहित चन्द्रप्रकाश सुवेदी, स्थानीयहरू दामोदर रिजाल, विष्णु रिजाल, शरद भण्डारी, राजु चौधरी, श्रीराम घर्ती, मदन भण्डारी छन्।

उनीहरू सबैलाई दाङ जिल्ला अदालतमा प्रहरीले उपस्थित गराइसकेपछि जिम्मा जमानतमा तारेख धाइरहेका छन्।
त्यस्तै, पक्राउ परेकामध्ये आफू नै अटो चालक भएको दाबी गर्ने मगरविरूद्ध प्रमाण दबाउन सहयोगी भूमिका खेलेको मतियारको मुद्दा चलेको छ।

वास्तविक चालक तथा अटो धनी स्थानीय २८ वर्षीय मुक्तान चौधरीविरूद्ध सवारी ऐन अन्तर्गत मुद्दा अदालतमा विचाराधीन छ। यी दुबै चालक अहिले प्रहरी हिरासतमा छन्। सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com