Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

विद्युत् सर्ट हुँदा एकको मृत्यु, १२ घाइते

पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए ।

स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काका अनुसार करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको छ । घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर १२ जना घाइते भएका छन् । हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीयवासी प्रताप आचार्यको फार्मका १६ बाख्रा मरेका छन् ।

विद्युत् कार्यालयको लारबाहीका कारण दुःखद् घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका छन् । टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत् प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।

उता, नेपाल विद्युत् प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले प्रारम्भिक रुपमा दुई सय २० भोल्टेज प्रसारण हुनुपर्ने विद्युत्को तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताए । विद्युत प्रवाहमा देखिएको समस्या समाधानका लागि केही स्थानमा रुख हटाउन थालिएको उनले बताए । रुखहरू हटाउने क्रममा फलामे पोलबाट एलटि लाइनमा विद्युत् लिकेज भएको हुनसक्ने उनले अनुमान गरे ।
कम्पोजिट एल्टीमा लाइनछिरेका कारण विद्युत् आपूर्तिमा समस्या भएको हुनसक्ने उनले अनुमान गरेका छन् । यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत् प्रवाहमा समस्या आउनेसक्ने उनले बताए ।

घटनाको यथार्थ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै दुई सय २० भोल्टेज प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे । कार्यालय प्रमुख गोसेलीले प्रारम्भिक रूपमा दुई २० भोल्टेजभन्दा बढी चार सय ४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com