Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चीनले छोडेन ताइवान वरिपरि सैन्य अभ्यास गर्न

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप गत बिहीबारदेखि ताइवान टापुको वरिपरि सैन्य अभ्यास थालेको चीनले सोमबार पनि त्यो क्रमलाई जारी राखेको छ।

गत मंगलबार पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी थिइन्। चीनको चेतावनीका बाबजुद् पेलोसीले ताइवान भ्रमण गरेको भन्दै चिनियाँ जनमुक्ति सेनाले बिहीबारदेखि ६ ठाउँबाट ताइवानलाई घेरेर जल तथा हवाई सैन्य अभ्यास गरेको थियो।

उक्त अभ्यास आइतबारसम्म हुने पहिला नै घोषणा गरिएको थियो। साउथ चाइना मर्निङ पोष्टका अनुसार पहिला घोषणा गरिएको समय सकिए पनि सोमबार ताइवाननजिक चिनियाँ सैन्य अभ्यास जारी छ।

चिनियाँ जनमुक्ति सेनाको इस्टर्न थिएटर कमान्डले सोमबार विज्ञप्ति जारी गर्दै हवाई र जल सैन्य अभ्यास जारी रहने बताएको छ।
अब कुन-कुन ठाउँमा सैन्य अभ्यास हुन्छ र कहिलेसम्म हुन्छ भन्ने खुलाइएको छैन।
पेलोसीको भ्रमणपछि बेइजिङले ताइवानलाई निरन्तर दबाब दिइराख्छ भन्ने विश्लेषण गरिएको थियो।

यसअघि चार दिनसम्म गरिएको सैन्य अभ्यासमा चीनले केही मिसाइलसमेत प्रहार गरेको थियो। चीनले युद्ध भए बराबरको सैन्य अभ्यास गरेको ताइवानले बताएको थियो।

पेलोसी पछिल्ला २५ वर्ष ताइवान जाने पहिलो अमेरिकी सभामुख हुन्। सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए।

गिन्ग्रिजको भ्रमणका बेला चीन आर्थिक र सैनिक हिसाबले अहिलेजस्तो शक्तिशाली बनिसकेको थिएन। सन् १९४९ मा जनवादी गणतन्त्र बनेको चीनले तत्कालीन सरकार प्रमुख चियांग काइ-सेक गएर बसेको ताइवान टापुलाई आफ्नो अभिन्न अंग ठान्दछ र कुनै दिन मातृभूमिमा मिसाउने लक्ष्य राखेको छ। सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएका र राष्ट्रपति बनेका सी चिनफिङले त ताइवानसँगको एकीकरणलाई आफ्नो पुनर्जागरण अभियानको अभिन्न हिस्सा मानेका छन्। शान्तीपूर्ण तरिकाले नभए सैन्य बलमार्फत् पनि ताइवानलाई चीनमा मिसाउने बेइजिङको भनाइ छ।

आर्थिक, सामरिक र सैनिक हिसाबलाई बलियो बन्दै गएको चीनलाई २ करोड ४० लाख मानिस बसोबास गर्ने ताइवानलाई एकीकरण गर्ने समय नजिकिँदै गएको भन्ने लाग्छ। त्यही भएर कुनै पनि अन्तर्राष्ट्रिय फोरमहरूमा चीन ताइवानको अस्तित्व स्वीकार्दैन। चीनको प्रभाव बढ्दै गएपछि धेरै मुलुकहरूले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै गएका थिए। अहिले ताइवानसँग भ्याटिकन सिटीसहितका १४ मुलुकले मात्र कूटनीतिक सम्बन्ध राखेका छन्।

अबको केही महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चुनिने तयारीमा रहेका चिनफिङलाई पेलोसीको ताइवान भ्रमण चिढ्याउने खालको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com