Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बैंकको रकम हिनामिना गरी शाखा प्रमुख भए सम्पर्कविहीन

बर्दियाको गुलरियामा रहेको नेपाल बैंकको शाखाका प्रबन्धक (म्यानेजर) धबेन्द्र न्यौपानेमाथि रकम हिनामिना गरेको आरोप लागेको छ।
उनीमाथि बैंकको रकम हिनामिना गरी सम्पर्कविहीन भएको आरोप लागेको हो।

गत बुधबारदेखि उनी सम्पर्कविहीन भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। उनले बैंकमा भएको रकम हिनामिना गरेको थाहा पाएपछि केन्द्रीय कार्यालय काठमाडौंबाट छान‍बिन गर्न अनुसन्धान टोली समेत पठाएको छ।

अहिले टोलीले अनुसन्धान गरिरहेको छ। टोली केही दिनमा अनुसन्धान सकेर काठमाडौं फर्किने प्रवक्ता अधिकारीले बताए।
न्यौपानेले कति रकम हिनामिना गरेका थिए भन्ने खुलेको छैन। अनुसन्धानको लागि खटिएको टोली फर्किएपछिमात्रै भन्न सकिने अधिकारीले बताए।

न्यौपानेलाई गत चैत २४ गतेमा शाखा म्यानेजरको रूपमा पठाएको थियो। यसअघि उनी सुर्खेतको वीरेन्द्रनगरको शाखामा थिए। उनले नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेको उनले बताए।

‘उहाँले सुरूवात नै वीरेन्द्रनगरबाट गर्नुभएको थियो। नाम निकालेर उहाँले त्यहाँबाट काम सुरू गर्नुभएको हो,’ अधिकारीले भने।
उनको पढाइमा पनि राम्रै भएको हुँदा म्‍यानेजरमा प्रमोसन गरी गुलरिया पठाइएको थियो। तर पछि उनले रकम नै हिनामिना गरेको पाएको हो।

न्यौपानेले गुलेरिया पुगेरमात्रै हिनामिना गरेका भने होइन। उनले वीरेन्द्रनगरमै हुँदा हिनामिना गरेको खुलेपछि गुलेरियामा पनि अनुसन्धान थालेको प्रवक्ता अधिकारीले बताए।

‘वीरेन्द्रनगरमा हुँदा नै रकम हिनामिना गरेको खुल्यो। त्यसपछि त्यहाँ पनि हिनामिना गरेको हुनसक्ने भनेर हामीले त्‍यहाँ पनि अनुसन्धान सुरू गरेको हो,’ उनले भने,‘यहाँ पनि रकम हिनामिना गरेको देखिन्छ। तर के(कति पछि मात्रै थाहा हुन्छ।’
उनले थपे, ‘पढाइ पनि एमफिल, पिएचडी गर्न लागेको मान्छे। सबै हिसाबले बेस्ट भनेर पठाइएको थियो। मति बिग्रिएपछि हिनामिना भयो।’

काठमाडौंबाट अनुसन्धान गर्ने टोली जानुअघि नै सम्पर्क गर्दा उनी सम्पर्कविहीन भइसकेका थिए। उनलाई हेडक्‍वार्टरबाटै फोन गरेको तर कहाँ छन् भन्ने पत्ता नलागेको उनले बताए।

बैंकले न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि जाहेरी दिएको छ।
जाहेरीअनुसार न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

‘बैंकका तर्फबाट उहाँ सम्पर्कविहीन भएको भनेर जाहेरी आएको छ। उहाँहरू आफैंले पनि आन्तरिक रूपमा अनुसन्धान गर्दै हुनुहुन्छ,’ उनले भने, ‘कनेक्ट आइपिएसमार्फत् रकम हिनामिना गरेको भन्ने छ। ४०-५० लाख रकम भनिएको छ। अनुसन्धानबाट खुल्छ पछि।’
बैंकले बर्दियासँगै बाँके, कञ्चनपुर, कैलाली र सुर्खेत प्रहरीलाई समेत खोजी गरिदिनू भन्दै पत्राचार गरेको छ।

सम्पर्कविहीन भएका न्यौपानेको खोजी गरिदिन भन्दै बैंकले मात्रै नभई परिवार समेतले कार्यालयमा निवेदन दिएको छ।
उनको परिवार निवेदन लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।
उनले हिनामिना गरेको थाहा पाउनेबित्तिकै हेडक्वार्टरले नयाँ म्यानेजरलाई पठाएको बैंकका प्रवक्ता अधिकारीले बताए। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com