Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको किताबले भन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा .ढाकाराम सापकोटाको कितबले स्पष्ट पारेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित डा. सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त किताब इतिहासको दस्तावेज भएको बताएका हुन्।

पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गरे। उनका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भंग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो।

उक्त सूचना आएपछि बैठकले त्यो घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए।
पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउँछ, उनले उल्लेख गरे। यो किताबमा उक्त घटनाक्रम स्पष्ट रूपमा पढ्न सकिने पनि उनले बताए।

त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखियो, उनले भने, तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको थियो। मुलुकको कम्युनिस्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको हो।

अध्यक्ष नेपालले किताबको अर्को संस्करण निकाल्दा ती दस्तावेजलाई तिथिमितिसहित बुँदागत रूपमा राख्न लेखकलाई सुझाव दिए।
तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरेका बताए। उनले भने, कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन।

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको किताबले केलाउने प्रयास गरेको बताए। एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि प्रस्तुत भएका दस्तावेज किताबमा संग्रह गरिनु नै महत्वपूर्ण भएको उनले बताए।

उनले भने, म आफैं तत्कालीन नेकपाको स्थायी कमिटी सदस्यको हैसियतले सबै विवादमा संलग्न छु। तर किताबमा समावेश भएका कतिपय चिज मसँग पनि छैन कि जस्तो लाग्ने खालको छ।

लेखक डा सापकोटाले आफूले समेटेका सबै कुरा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिए। त्यसमा कुनै पूर्वाग्रह नराखिएको उनले प्रष्ट्याए। दस्तावेज संकलन गर्न जाँदाका कठिनाइबारे समेत उनले जानकारी गराएका थिए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com