Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

१० साउन, मङ्गलबारे । रुघाखोकी र ज्वरो बढेपछि इलाममा विद्यालय बन्द गर्न थालिएको छ ।
पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो ।

पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।

गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

अस्पतालमा शय्या नहुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ ।
बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com