Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बेलायती प्रधानमन्त्री बन्ने दौडमा बाँकी रहे चार जना, ऋषि सुनक सबैभन्दा अघि

तेस्रो चरणको चुनाव भएपछि बेलायती प्रधानमन्त्री बन्ने दौडमा चार जना बाँकी रहेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार सोमबार कन्जरभेटिभ पार्टीका सांसदहरूले आफ्नो नयाँ नेता छान्न तेस्रो पटक मत हालेका थिए।

सबैभन्दा कम मत ल्याउने एक जना बाहिरिएसँगै अब चुनावी दौडमा चार जना बाँकी छन्। अहिलेसम्म तीनै चरणका मतदानमा भारतीय मूलका सांसद ऋषि सुनकले अग्रता लिइरहेका छन्।

दोस्रो चरणमा १०१ सांसदको मत पाएका ऋषि तेस्रो चरणमा थप १४ जनाको समर्थनसहित ११५ मत पाएका छन्। दोस्रो स्थानमा रहेकी अर्की सांसद पेनी मोर्डन्टले ८२ मत ल्याएर पछ्याएकी छन्।

दोस्रो चरणमा उनमो मत ८३ थियो। तेस्रो स्थानमा रहेकी लिज ट्रसले ७१ म पाएकी छन् भने अर्की सांसद क्यामी ब्याडनकले ५८ मत ल्याएकी छन्।

यी चारबाट दुई जना अन्तिम उम्मेदवार छान्न मंगलबार चौथो चरणको चुनाव हुनेछ। त्यसरी छानिएका दुई जनामध्ये एकलाई कन्जरभेटिभ पार्टीका झन्डै २ लाख कार्यकर्ताले पार्टी नेताको रूपमा छान्ने छन्।

बेलायतमा सेप्टेम्बरमा ५ मा नयाँ प्रधानमन्त्रीको घोषणा हुने छ। सन् २०१९ को आम चुनावमा कन्जरभेटिभ पार्टील संसदमा बहुमत ल्याएकाले अबको प्रधानमन्त्री को हुने भन्ने निर्णय पनि सोही पार्टीका कार्यकर्ताले गर्छन्। बेलायती प्रधानमन्त्री यो दौडमा भारतीय मूलका सुनकको अग्रताले पनि रोचकता थपेको छ।

भारतीय मूलको पहिलो बेलायती अर्थ मन्त्री बनेर रेकर्ड बनाएका ४२ वर्षीय सुनक प्रधानमन्त्री भए नयाँ इतिहास हुनेछ। झन्डै २ सय वर्ष बेलायतले भारतमाथि शासन गरेको थियो।

भारतीय सञ्चारमाध्यमहरूले अहिले त्यही बेलायतमा शासन गर्ने व्यक्ति भारतीय हुन लागेको उल्लेख गरेका छन्। ऋषिका हजुरबुबा(हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।

सांसदहरूमाझ बढी मत ल्याएको भए पनि कन्जरभेटिभ कार्यकर्ताहरूमा ऋषिको भन्दा दोस्रो स्थानमा रहेकी पेनी मोर्डन्टको लोकप्रियता बढी रहेको द इकोनोमिस्टले उल्लेख गरेको छ। ऋषिलाई प्रधानमन्त्री बोरिस जोनसन पक्षले पनि रूचाएको छैन।

जोनसनको सत्ता बहिर्गमनमा सबैभन्दा ठूलो भूमिका ऋषिको रहेको जोनसन पक्षको बुझाइ छ। जोनसनसँग असहमति राख्दै ऋषिले राजीनामा दिएपछि जोनसन क्याबिनेटका मन्त्रीहरूको राजीनामाको ओइरो लागेको थियो।

सुरूमा आफूले करोडौं बेलायती मतदाताको म्यान्डेट पाएको उल्लेख गर्दै सत्तामा रहन प्रयास गरेका जोनसनले चर्को दबाबपछि राजीनामा दिएका थिए। अहिले पनि जोनसन पक्षले ऋषिलाई नसघाउने देखिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com