Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पहिलोपटक नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन्। उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ। यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ।

‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ। प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्नेरु,’ नगरप्रमुख घनश्याम गिरीले भने।

उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ। मेसिनको करिब रू दुई करोड ५० लाख पर्ने जनाइएको छ।

गिरीका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ। नगरप्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन। यसबाट समग्र उपत्यकाको सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुर्‍याउँछ। यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ। सम्भव भए नगरपालिका आफैंले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ।’

‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युँतिदै

उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ। पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो। यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ। फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए
‘उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु। छिट्टै फोरमको बैठक हुन्छ। त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु’, उनले भने।

काठमाडौं महानगरपालिकाले नागढुंगामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ। शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, ‘नागढुंगामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु। मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौं। सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौं’, उनले भने।

कलंकी–नागढुंगा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’ राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ। नगरपालिकाले कुहिने र नकुहिने फोहर संकलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए।

नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलंकी–नागढुंगा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो। यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो। नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ।

‘पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो। यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ’, उनले भने। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com