Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारतीय मूलका ऋषि बेलायती प्रधानमन्त्री बन्ने दौडमा अघि-अघि

बेलायतमा अहिले नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया चलिरहेको छ। बेलायती संसदमा कन्जरभेटिभ पार्टीको एकल बहुमत भएकाले प्रधानमन्त्री बन्न पहिला कन्जरभेटिभ पार्टीको नेता बन्नुपर्छ।

कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा अहिलेसम्म भारतीय मूलका बेलायती सांसद ऋषि सुनक अघि-अघि छन्। केही दिनअघि राजीनामा दिएका बोरिस जोनसनको सरकारका अर्थमन्त्री सुनकले अहिलेसम्म भएका दुई चरणका मतदानमा सबैभन्दा धेरै कन्जरभेटिभ सांसदको मत पाएका छन्।

दोस्रो चरणमा सुनकले १०१ सांसदको मत पाएका छन् भने उनलाई अर्की सांसद पेनी मोर्डन्टले ८३ मत ल्याएर पछ्याएकी छन्।
टेलिभिजन बहसहरूमा पनि ४२ वर्षका ऋषि खरो रूपमा प्रस्तुत हुने गरेका छन्। ‘रेडी फर ऋषि’ नाम दिएर उनले चुनावी अभियान गरिरहेका छन्।

सोमबार तेस्रो चरणको मतदान हुँदैछ। यी मतदानबाट कम मत ल्याउने दाबेदारहरू बाहिरिँदै जान्छन्।
अन्तिममा रहेका दुई जनामध्ये एकलाई नेता चुन्न भने सांसदसँगै कन्जरभेटिभ पार्टीका झन्डै दुई लाख कार्यकर्ताले भोट हाल्छन्।

सन् २०१९ को आम चुनावमा कन्जरभेटिभ पार्टील संसदमा बहुमत ल्याएकाले अबको प्रधानमन्त्री को हुने भन्ने निर्णय पनि सोही पार्टीका कार्यकर्ताले गर्छन्।

सांसदहरूमाझ बढी मत ल्याएको भए पनि कन्जरभेटिभ कार्यकर्ताहरूमा ऋषिको भन्दा दोस्रो स्थानमा रहेकी पेनी मोर्डन्टको लोकप्रियता बढी रहेको द इकोनोमिस्टले उल्लेख गरेको छ।

ऋषिलाई प्रधानमन्त्री बोरिस जोनसन पक्षले पनि रूचाएको छैन। जोनसनको सत्ता बहिर्गमनमा सबैभन्दा ठूलो भूमिका ऋषिको रहेको जोनसन पक्षको बुझाइ छ।

जोनसनसँग असहमति राख्दै ऋषिले राजीनामा दिएपछि जोनसन क्याबिनेटका मन्त्रीहरूको राजीनामाको ओइरो लागेको थियो। सुरूमा आफूले करोडौं बेलायती मतदाताको म्यान्डेट पाएको उल्लेख गर्दै सत्तामा रहन प्रयास गरेका जोनसनले चर्को दबाबपछि राजीनामा दिएका थिए। अहिले पनि जोनसन पक्षले ऋषिलाई नसघाउने देखिएको छ।

अब तेस्रो चरणको मतदान सोमबार हुँदैछ। सोमबारको मतदानमा पनि ऋषि पहिलो वा दोस्रो स्थानमा आए भने उनी जुलाई २२ मा हुने कन्जरभेटिभ पार्टीको राष्ट्रव्यापी मतदानमा उम्मेदवार बन्ने छन्।

कन्जरभेटिभ पार्टीको नयाँ नेताको घोषणा सेप्टेम्बर ५ मा हुनेछ। आफ्नो पार्टीको नेता चुनिए ऋषि बेलायतको प्रधानमन्त्री बन्नेछन्।
भारतीय मूलको पहिलो बेलायती अर्थ मन्त्री बनेर रेकर्ड बनाएका सुनक प्रधानमन्त्री भए नयाँ इतिहास हुनेछ।

झन्डै २ सय वर्ष बेलायतले भारतमाथि शासन गरेको थियो। भारतीय सञ्चारमाध्यमहरूले अहिले त्यही बेलायतमा शासन गर्ने व्यक्ति भारतीय हुन लागेको उल्लेख गरेका छन्।

ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्।
सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्।

भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ। उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com