Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ।
बजेट माथिको छलफल सकिएपछि गए राति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो। आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टै रूपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरूद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरू भएको थियो।

सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो।

बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिएकाले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको व्यहोरा सदनलाई जानकारी गराए।

नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उनले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गरेका थिए।

विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित भएका थिए। मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com