Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेको खुलासा

आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षे देश छोडेर भागेको खुलेको छ।
बेलायती प्रसारण संस्था बिबिसीसँग कुरा गर्दै श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको बताएका हुन्।
उनले भनेका छन्- राष्ट्रपति देशबाहिर नजिकै हुनुहुन्छ। बुधबार राजीनामा दिनुहुन्छ। त्यतिबेला उहाँ स्वदेश फर्किनुहुन्छ।

गत शनिबार प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रपति कार्यालय कब्जा गरेका थिए। प्रदर्शनकारी राष्ट्रपति निवास छिर्नुअघि नै राजापाक्षेले निवास छोडेका थिए।

त्यसयता उनी कहाँ छन् भन्ने खुलाइएको थिएन।

श्रीलंकामा अब के हुन्छ ?

टापु राष्ट्र श्रीलंकामा अहिले अनौठा कुराहरू भइरहेका छन्। तीन दिनदेखि प्रदर्शनकारी राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छन्।

केहीदिन अघिसम्म कडा सुरक्षा पहरामा रहने यी भवनमा अहिले मान्छेहरू सजिलै भित्र-बाहिर गरिरहेका छन्। कतिले त्यहीँभित्र दाउरा बालेर खाना पकाइरहेका छन्, कोही स्विमिङ पुलमा पौडिरहेका छन्। प्रदर्शनकारीहरू देशका दुई कार्यकारी बस्ने दशकौं पूराना भवनभित्र जे-जे सुविधा छन् तिनको ‘मज्जा’ लिइरहेका छन्। राष्ट्रपति र प्रधानमन्त्री निवास हेर्न मानिसहरू निकै टाढा-टाढाबाट कोलोम्बो आइरहेका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका उनीहरूका कतिपय तस्बिर र भिडिओ हाँसो उठ्ने खालका छन्। दुई दशकसम्म श्रीलंकाको शासनमा प्रभाव जमाएको राजापाक्षे खानदानलाई सत्ताबाट हटाएकोमा प्रदर्शनकारीमा एक किसिमको आनन्द देखिन्छ। उनीहरूको यो क्षणिक आनन्दका पछाडि गहिरो पीडाको कथा छ भने अनिश्चित भविष्यको छायाले पनि उनीहरूलाई पछ्याइरहेको छ।

२ करोड २० लाख श्रीलंकालीहरू केही वर्षअघिसम्म आर्थिक विकासका लागि छिमेकी मुलुकहरूका लागि पनि उदाहरण बन्ने दिशामा थिए। शासकहरू अदूरदर्शी नीतिका कारण अहिले श्रीलंका टाट पल्टिएको छ। हिजोसम्म आमनागरिकले जे कुरालाई दैनिक आवश्यकता ठान्थे ती आज प्राप्त गर्न नसक्ने सुविधामा परिणत भएका छन्।

प्रदर्शनकारीले उनीहरूको निवास कब्जा गरेपछि राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रेमेसिंघे कहाँ छन् भन्ने थाहा छैन। राष्ट्रपति र प्रधानमन्त्री दुबै नभएको अवस्था अहिले श्रीलंका कसले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म उनीहरूको निवास नछोड्ने बताएका छन्। यसअघि प्रधानमन्त्री विक्रेमेसिंघेले आफूले राजीनामा दिने बताएका थिए।

राष्ट्रपति राजापाक्षे शनिबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। न त उनले कुनै सन्देश जारी गरेका छन्।
केही दिनअघि तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षेले राजीनामा दिने बताएका थिए। सोमबार प्रधानमन्त्री विक्रेमेसिंघे प्रेस युनिटले पनि राष्ट्रपति राजापाक्षेले बुधबार राजीनामा दिने बताएको छ। राजापाक्षे स्वयंले भने यसबारे कुनै जानकारी दिएका छैनन्।

तीन वर्षअघि राष्ट्रपति निर्वाचित भएका, आफ्ना दाइलाई प्रधानमन्त्री र भाइ-भतिजालाई मन्त्री बनाएका गोटवायाले साँच्चै राजीनामा दिने हुन् कि उनले आफ्नो अरू योजना बनाउन समय मात्र लिएका हुन भन्ने प्रष्ट भइसकेको छैन।

राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रेमेसिंघेले राजीनामा दिएपछि श्रीलंकामा ७६ वर्षका सभामुख आबेवार्डेन अन्तरिम राष्ट्रपति हुने छन्।
उनी अन्तरिम नेता भएपछि नयाँ राष्ट्रपति र प्रधानमन्त्री छान्नुपर्ने छ। संसदमा राजापाक्षेको पार्टीको बहुमत भएकाले सबैलाई मान्य हुने राष्ट्रपति र प्रधानमन्त्री छान्न कठिन हुने देखिन्छ।

त्यो कठिन चरण पार गरेर बनेको नयाँ सरकारका अघि पनि समस्याको पहाड हुनेछ। सबैभन्दा पहिला त सरकारले प्रदर्शनकारीको आक्रोश मत्थर पारेर उनीहरूको विश्वास जित्नु पर्नेछ। नयाँ सरकारप्रति नागरिकमा भरोसा भएन श्रीलंका झन् गहिरो राजनीतिक संकटमा फस्ने छ।

सबैलाई अघि लिएर बढ्न सक्ने सरकार आर्थिक पुनर्जीवनका लागि पनि आवश्यक छ। खाद्यान्न र पेट्रोलियम किन्न पनि विदेशी मुद्रा नभएपछि श्रीलंका सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० सँग वार्ता गरिरहेको छ। राजापाक्षे सरकारका बेला सुरू भएको त्यो वार्ता अघि बढाउन आइएमएफले पहिला स्थायी सरकार हुनु पर्ने सर्त राख्न सक्छ। नागरिकको विश्वास नभएको सरकारलाई आइएमएफले पैसा नदिन सक्छ।

यो वर्षको अन्त्यसम्म इन्धन र अरू अत्यावश्यक कुरा किन्न श्रीलंकालाई ६ अर्ब डलर चाहिने प्रक्षेपण गरिएको छ। यति धेरै पैसा कहाँबाट आउँछ भन्ने प्रश्नको उत्तर भने प्रष्ट छैन।

श्रीलंकाको छिमेकी भारतले अहिलेसम्म ऋण र अनुदान गरी ४ अर्ब डलर दिइसकेको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले भारत श्रीलंकाली जनताको पक्षमा रहेको बताएको छ तर अब कहिलेसम्म कति सहयोग गर्छ भन्ने खुलाएको छैन।

विगतमा राजापाक्षे शासनसँग निकट सम्बन्ध भएको चीनले पछिल्लो समय आफूलाई श्रीलंकाको मामलाबाट टाढै राख्ने गरेको छ। अहिले पनि श्रीलंकाले तिर्नुपर्ने ऋणमध्ये ११ प्रतिशत चीनको छ।

आइएमएफसँग लम्बिएको वार्ता र अरू मुलुकबाट चाहिने जति पैसा नपाउने भएपछि केही दिनअघि राजापाक्षे सरकारले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन दिएर सहयोग गरिदिन अनुरोध गरेका थिए।

छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि संसारभरबाट एक्लिएका पुटिनले अब श्रीलंकालाई कसरी सहयोग गर्छन् ठ्याक्कै भन्न सकिन्न।
(द न्युयोर्क टाइम्स, अलजजिरालगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com