Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

एउटा यस्तो पास्नी !

असार,१८ काठमाडौं । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै–कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ ।

तर शनिबार भक्तपुरको चाँगुनारायणमा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो । चाँगुनारायण–४ मा अवस्थित तुलसालय आश्रममा छ महिनाकी स्तुतिको पास्नीमा उपस्थित सबै अतिथिहरूले उनको अवस्थाका बारेमा बताइरहँदा निकै भावुक भएका थिए । स्तुति उनकी आमाकी सातौं छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छत्यालको निधन भएको थियो ।

बुवा अशक्त, आमाको निधन । स्तुतिका दिदीहरु सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतिलाई तुलसालय हरिहर फाउण्डेशनले उद्धार गरी लालनपालन गरी आएको छ । शनिबार तिनै स्तुतिको शुभ अन्नप्राशन नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट भयो ।

स्तुतिलाई सगुन खुवाएपछि पूर्वप्रधानन्यायाधीश कार्की निकै भावुक भइन् । ‘मेरो सामाजिक जीवनमा म धेरै कार्यक्रममा सहभागी भएँ हुँला तर यस्तो कार्यक्रममा कहिल्यै गएको थिइनँ, यसरी अनाथ आश्रममा रहेकी एक छोरीको अन्नप्राशनजस्तो शुभकार्यमा मलाई सहभागी गराउने आश्रमका सञ्चालक महान् छन्’ उनले भनिन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले अघि भनिन् ‘जसका आमाबुवा छैनन्, जो परिवारको हैसियतमा छैनन्, टुहुरा छन् र समाजका बेसहारा नागरिक छन् उनीहरुको अभिभावकत्व ग्रहण गर्दै बच्चालाई बढाइ, पढाइ उनीहरुको भविष्य बनाउने महान् कार्यलाई कसैले बिर्सनु हुँदैन । त्यस्तै समाजमा जो बेसहारा छन् तिनको सहारा सरकार हो भन्ने दायित्व सरकारले बुझ्नुपर्छ । अनाथ आश्रमबाट धेरै बच्चाहरूले सहारा पाएकाले यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ ।’

कार्कीले तुलसालय आश्रमले प्रदर्शन गरेको मानवीय सेवाभावको प्रशंसा गरिन् ।
स्तुतिलाई सगुन खुवाउन पुगेकी पूर्वप्रदेश प्रमुख एवं माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले बेसहारा बालबालिका र आम नागरिकलाई सहयोग पुर्‍याउनु नागरिकको कर्तव्य हो भन्दै समाजमा सकारात्मक सन्देश दिन र मानवीय सेवाको भावना जागृत गराउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहने बताइन् ।

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले बच्चा ल्याएर पढाएर, बढाएर पछि देशका लागि लायक नागरिक बनाउनु ठूलो परोपकारी कार्य भएको बताए ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले छोराको चाहनाले छोरी जन्माइरहने नेपाली समाजले स्तुतिजस्ता छोरीलाई बेसहारा बनाउने धारणा राखिन् । उनले छोरा र छोरी दुवै सन्तान हुन् भावना अझै पनि देशका कुनाकाप्चासम्म पुग्न नसकेकाले त्यो चेतना जागृत गराउन जरुरी रहेको बताइन् ।

तुलसालय हरिहर फाउण्डेशनकी अध्यक्ष सरु सुवेदीले यस्ता कार्यक्रमले अनाथ तथा बेसहारा बालबालिका तथा असहाय नागरिकका पनि समाजमा कोही छन् भन्ने सकारात्मक सन्देश दिन सकियोस् र यी बालबालिका पनि आफ्नो सांस्कृतिक अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्तुतिको अन्नप्राशन गरिएको बताइन् ।

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले गत पुस २९ गते सातौँ सन्तानका रूपमा स्तुति जन्मिएकी थिइन् । आफ्नो सातौँ सन्तान पनि छोरी नै जन्माएपछि छोरीको मुख पनि नहेरी प्रशव पीडामै आमाको निधन भएको थियो । स्तुतिको बिचल्ली भएको खबर पाएपछि फाउण्डेशनका अध्यक्ष सुवेदीले ती शिशुसहित उनका दुई दिदीको उद्धार गरेर ल्याएकी थिइन् ।

स्तुतिका बाबु गोरख छत्याल अशक्त र बिरामी छन् । उनको आर्थिक अवस्था निकै कमजोर भएपछि नवजात शिशुसहित छ छोरी पाल्न उनलाई कठिनाइ भयो । त्यसपछि दाजुभाइ र आफन्तले सुवेदीलाई खबर गरी उनको उद्धार भएको हो । जन्मेको २०औँ दिनमा उद्धार गरिएको शिशुको एक महिनामा आश्रममै न्वारान गरिएको थियो ।

अहिले आश्रममा छ महिनाकी स्तुतिसहित २६ बालबालिका छन् । थप केही बालबालिका केही दिनमा आश्रमसम्म आइपुग्ने अध्यक्ष सुवेदीले जानकारी दिइन् । ललितपुरको भैँसेपाटीमा स्थापित यो प्रतिष्ठानले गएको पुस महिनादेखि भक्तपुरको चाँगुनारायण–४ मा शाखा स्थापना गरी बेसहारा नागरिक तथा बालबालिकालाई सहारा प्रदान गरी लालनपालन गर्दै आएको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com