Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वर्षाका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या

केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या आएको छ। काठमाडौंदेखि बञ्चरेडाँडासम्म पुग्ने सडकमा निरन्तर परेको पानीले समस्या आउँदा नियमित रूपमा गाडीहरू जान सकेका छैनन्।

सामान्य अवस्थामा प्रतिदिन ३०० वटासम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र व्यवस्थापन गर्दै आएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।

कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहोरकै डंगुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताइन्।

गत फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा फोहोर व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो। सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीको समस्या समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो।

तत्कालका लागि स्थानीयवासीको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको महानगरको भनाइ छ। यसैबीच महानगरले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ। फोहोर सहजै व्यवस्थापन गर्न आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई स्रोतमै वर्गीकरण गर्न लागेको महानगरले जनाएको छ।

काठमाडौं महानगर, सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्ने सहमतिअनुसार यस किसिमको अभ्यास गर्न लागिएको हो। वातावरण विभागका अनुसार फोहोर संकलन क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय रूपैयाँ जरिवाना गरिनेछ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com